२३ बैशाख २०८१, आइतबार । May 5, 2024

अर्थ

महेन्द्र शान्ति माविमा अक्षयकोष



भक्तपुर, ११ असार । सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित महेन्द्र शान्ति माविमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयको ६५ औँ वार्षिकोत्सवमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्तकुमार कार्कीले विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेको प्रअ गोपालविक्रम थापाले जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीले आफ्ना दिवङ्गत पिता कृष्णबहादुर, माता हिराकुमारी र दाजु अर्जुनको स्मृतिमा स्थापना गरेको अक्षयकोषको ब्याजबाट बर्सेनि सोही विद्यालयका जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिइने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रगानका सर्जक व्याकुल माइलाले सो विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा एसइई उत्तीर्ण गर्ने २७ विद्यार्थी एवम् विद्यालयका विभिन्न कक्षाका कक्षागत उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभयो ।

सो अवसरमा विद्यालयबाट सेवा निवृत्त विज्ञान शिक्षक ऋषभदेव बुढाथोकीलाई सम्मान गरिएको थियो । विद्यालयका प्रअ थापाले सो विद्यालयले यसै शैक्षिक सत्रदेखि शिक्षा र मानविकी विषयमा कक्षा सुरु गर्ने र पछि व्यवस्थापनको कक्षाको तयारीसमेत गरिएको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेत, स्थानीय समाजसेवी रोहितबहादुर राना क्षेत्री, विद्यालय निरीक्षक कुमार भट्टराई, वडाध्यक्ष कमलनाथ भट्टराई, विद्यालयका पूर्वप्रअ तारामान जोशीलगायतले सामुदायिक विद्यालयका रुपमा सो विद्यालय उत्कृष्ट विद्यालयको चिनारी दिँदै अगाडि बढेको बताउनुभयो । रासस

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००