१९ बैशाख २०८१, बुधबार । May 2, 2024

मुख्य खबर

स्क्रबटाइफसको कीट अभाव



चितवन, ८ असार । गएको असोज, कात्तिक महिनामा महामारीका रुपमा देखिएको स्क्रबटाइफस परीक्षणका लागि आवश्यक पर्ने कीट चार महिनायता सरकारी तवरबाट उपलब्ध नहुँदा बिरामी निजी अस्पतालमा धाउन बाध्य भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कीट नियन्त्रक राम केसीका अनुसार माघयता स्क्रबटाइफसको कीट प्राप्त भएको छैन । त्यसअघि जनस्वास्थ्य कार्यालयले कीट झिकाएर भरतपुर अस्पतालमा दिँदै आएको थियो । हाल यहाँको चितवन मेडिकल कलेजमा मात्र स्क्रबटाइफसको परीक्षण गरिँदै आएको छ ।

एकपटक परीक्षण गर्दा रु दुई हजार ५०० मेडिकल कलेजले लिने गरेको छ । सरकारले यो परीक्षण सरकारी अस्पतालमा निःशुल्क गराउने जनाएको भए पनि कीट भने पठाएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका निमित्त प्रमुख नरहरि शर्माले विभागमा कीट माग्ने काम भइरहेको भए पनि प्राप्त हुन नसकेको बताउनुभयो ।

चालु आवको हालसम्म स्क्रबटाइफसबाट चारजनाको मृत्यु भई सकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कीट नियन्त्रक केसीका अनुसार एक हजार ६२७ जनाको परीक्षण गर्दा ५०४ जनामा यो रोग देखिएको हो । तीमध्ये चारजनाको मृत्यु भएको उहाँले बताउनुभयो । भदौमा एकजना र कात्तिकमा तीनजनाको मृत्यु भएको थियो ।

यो वर्ष सबैभन्दा बढी कात्तिकमा १६६ जना र असोजमा ११२ जनामा स्क्रबटाइफस देखिएको उहाँले बताउनुभयो । गतवर्षको वैशाखदेखि असारसम्ममा ४५ जनाको स्क्रफटाइफस परीक्षण गर्दा ३३ जनामा पोजिटिप देखिएको थियो । जसमध्ये एकजनाको मृत्यु भएको थियो । यस वर्ष पनि वर्षात् सुरु हुन लागेसँगै बिरामी देखापर्न थालेका छन् ।

स्क्रबटाइफस मुसामा लाग्ने किर्नाजस्तो सामान्यतयाः आँखाले देख्न गाह्रो हुने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने गर्छ । गर्मी मौसमसँगै खेतबारीमा काम गर्ने र घर बाहिर बस्ने हुँदा यो मौसममा रोग देखिने गर्छ ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००