१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

मुख्य खबर

अध्यक्ष दाहालसँग महासङ्घ पदाधिकारीको भेट



काठमाडौँ, ४ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भेट गर्नुभएको छ ।

आइतबार दिउँसो अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा उद्योग वाणिज्य महासङ्घका पदाधिकारीले अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्व कालमा निजी क्षेत्रले निकै ठूलो उत्प्रेरणा र हौसला प्राप्त गरेको बताउनुभयो ।

भेटमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष राणाले दाहालको प्रधानमन्त्रीत्वकाल नेपालको समृद्धि र विकासका लागि नमुनायोग्य रहेको बताउँदै निजी क्षेत्रले दाहालकै नेतृत्वमा देशको समृद्धि अगाडि बढेको हेर्न चाहेको बताउनुभयो ।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले दाहालको कार्यकालमा राष्ट्रिय गौरवका आयोजनामा तीव्रता आउनु, विद्युत्भार कटौतीको अन्त्य हुनु र आर्थिक वृद्धिदर गुणात्मक रुपमा बढ्नु निजी क्षेत्रका लागि निकै सुखद विषय भएको बताउनुभयो ।

भेटमा अध्यक्ष दाहालले आफूले निकै मेहनत गरेर नै मुलुकमा विद्युत्भार कटौतीको अन्त्य, तीव्र आर्थिक वृद्धिदर, मूल्य वृद्धि नियन्त्रण, बन्द, हडताल नहुने वातावरणको सिर्जना र विकास आयोजनाले तीव्रता पाएको बताउनुभयो ।

आर्थिक विकास र समृद्धिका लागि राजनीतिक स्थिरता महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष दाहालले प्रधानमन्त्रीमा नरहे पनि नेपालको विकास र प्रगतिका लागि आफ्नो निरन्तर पहल रहने बताउनुभएको थियो । रासस

प्रकाशित : ४ असार २०७४, आइतबार ००:००