१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

मुख्य खबर

बाध्य भएर आन्दोलनमा–राजपा



काठमाण्डौ, २९ जेठ । राजपा नेपाल अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले आफूहरू बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरेको स्पष्ट पार्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले राजपा नेपाललाई बाहिर राखेर स्थानीय तहको चुनाव हुनै नसक्ने दाबी गर्नुभयो ।

नेता यादवले संविधान संशोधन, जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या बढाउने, मधेस आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा फिर्ता लिनुपर्ने, अपाङ्ता भएकाहरूलाई क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्नेलगायत माग सरकारले पूरा गर्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा गर्नुपर्ने भएकाले निर्वाचन हुनेमा शङ्का नगर्न सबैमा आग्रह गर्नुभयो ।

राजपा नेपालले चुनाव विरोधी आन्दोलन घोषणा गरेर गल्ती गरेको चर्चा गर्दै उहाँले निर्वाचन बहिष्कार गरेर आन्दोलनमा जाँदा मधेसका मुद्दा कमजोर हुने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले राजपा नेपाल निर्वाचनमा सहभागी नभएपनि दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचन नरोकिने बताउँदै राजपा नेपाल पनि चुनावमा आउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको र राजपालाई चुनावमा सहभागी गराउन सबै प्रयास गर्ने बताउनुभयो ।

नेता लेखकले अहिलेको राष्ट्रिय एजेण्डा भनेको संविधान कार्यान्वयन भएकाले यसका लागि चुनाव अनिवार्य आवश्यकता रहेको बताउँदै संविधानको स्वीकार्यता बढाएर जाने र संविधान कार्यान्वयन गर्नु नै अहिलेका प्रमुख राष्ट्रिय कार्यभार हो भन्नुभयो । रासस

प्रकाशित : २९ जेष्ठ २०७४, सोमबार ००:००