२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

उम्मेदवारको प्राथमिकतामा भौतिक पूर्वाधार निर्माण



काठमाडौँ, २५ वैशाख । काठमाडौँ महानगरपालिकाको नगरप्रमुख र उपप्रमुखका उम्मेदवार बनेकाहरुले काठमाडौँलाई भौतिक पूर्वाधारयुक्त सम्पन्न सहर बनाउने नारा अगाडि सारेका छन् ।
उनीहरुले अस्तव्यस्त काठमाडाँैलाई व्यवस्थित गर्ने आफ्नो मुख्य योजना घोषणापत्रमा उल्लेख गरेका छन् । काठमाडौँलाई सुविधासम्पन्न (स्मार्टसिटी) बनाउनेदेखि मोनोरेलसम्म सञ्चालन गर्ने महत्वकाङ्क्षी योजना उम्मेदवारका रहेका छन् ।
धुलोधुवाँबाट मुक्त, व्यवस्थित सडक, यातायातको सहजता बनाउने, विद्युतीय स्मार्ट गाडी सञ्चालनमा ल्याउनेजस्ता प्रतिबद्धता उम्मेदवारले व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार राजुराज जोशीले ‘आधुनिक भौतिक पूर्वाधार, महानगरको आधार’ नाराका साथ काठमाडाँैलाई स्मार्टसिटी बनाउनेदेखि प्रमुख चोकमा फ्लाई ओभर निर्माण गर्ने प्रतिबद्धता घोषाणपत्र मार्फत अगाडि सारका छन् ।
उनका प्रतिबद्धतामा सडक बत्तीको आधुनिकीकरण गर्ने, सडकको मुख्य मुख्य चोकमा सिसीटिभी जडान गर्ने, अन्तर्राष्ट्रियस्तको खेलकुद रङ्गशाला बनाउनेजस्ता भौतिक पूर्वाधारका योजना रहेका छन् ।
यस्तै उनले काठमाडौँको अस्तव्यस्त यातायातलाई व्यवस्थित बनाउनका लागि विद्युतीय सवारी साधान चलाउने, सवारी साधनबाट हुने प्रदूषणलाई नियन्त्रण गर्नका लागि हरित क्षेत्रको निर्माण गर्ने, धुलोधुवाँलाई व्यवस्थापन गर्नेजस्ता परियोजनालाई आफ्नो प्रमुख नारा बनाएका छन् ।
नेकपा (एमाले)का तर्फबाट नगरप्रमुखको उम्मेदवार बन्नुभएका विद्यासुन्दर शाक्यले अस्तव्यस्त महानगरलाई व्यवस्थित बनाउने भन्दै स्मार्टसिटीदेखि केबलकार, मोनोरेलसम्मको योजना अघि सारेका छन् । उनले आफूले जितेमा तीन वर्षभित्र महानगरको चक्रपथभित्र मोनोरेल सञ्चालन गर्ने, स्मार्ट सिटी ट्रान्सपोर्ट कार्डको व्यवस्थापन गर्ने, साइकल सिटीको पूर्वाधार निर्माण गर्ने, विभिन्न ठाउँमा स्वचालित भर्टिकल, अन्डरग्राउन्ड कार पार्क सञ्चालन गर्नेजस्ता प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै महानगरभित्रको धुलोधुवाँलाई नियन्त्रण गरी ‘सिटी अफ नो माक्स’ बनाउने, स्वच्छ सहर अभियानको प्रारम्भ गर्दै धुलोधुवाँ न्यूनीकरण गरी नो माक्स सिटी बनाउने, सवारी साधनको व्यवस्थापनका लागि बसपार्क, कारपार्क, मोटरसाइकल र साइकलपार्कको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।
यस्तै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वोत्तमदास डङ्गोलले पनि काठमाडौँलाई पूर्णरुपमा स्मार्ट सिटी बनाउने बताएका छन् । उनको प्रतिबद्धतामा काठमाडौँको यातायातलाई व्यवस्थित गर्नका लागि उपत्यकामा जापानी प्रविधिको मेट्रो रेल चलाउने र सहरी पुस्तकालयको योजना बनाएका छन् ।
उनले राजधानीमा विद्युतीय ट्रली बस चलाउने, महानगरका सडक खाल्डाखुल्डीरहित बनाउने, महानगरभित्र निर्माण भएका मापदण्ड विपरीतका घरको प्रमाणीकरण गर्ने, अव्यवस्थित सहरीकरण अन्त्य गर्ने जस्ता प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
यस्तै साझा पार्टीको तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएको किशोर थापाले पनि महानगरको ट्राफिक व्यवस्थापन गर्नका लागि मेट्रो रेल र आकासे पुल (फ्लाइओभर) निर्माण गर्ने एजेन्डालाई प्रमुख बनाउनुभएको छ । आफूले जितेमा पाँचबर्से कार्यकालभित्र मोनोरेल र आकासे पुल बनाउने उनले दाबी गरेका छन् । थापाले काठमाडौँको धुवाँधूलो नियन्त्रण गर्ने र प्रदूषणमुक्त सहर बनाउने योजना घोषणापत्रमार्फत सार्वजनिक गरेका छन् ।

प्रकाशित : २५ बैशाख २०७४, सोमबार ००:००