५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधियो



 काठमाडौं।  वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ ।

दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा. बुद्धीराज पाण्डे र डा. साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

अन्सारी ड्युटीको समयमा पनि व्यक्तिगत क्लिनिकमा काम गरेको भेटिएको र पाण्डेले अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधि खरिद गर्न पठाउने गरेको पाइएकाले स्पष्टकीरण सोधिएको हो । यसअघि पाण्डे र अन्सारीलाई निलम्बन गरिएको भए पनि फेरि पनि गलत काम गरेकाले दोस्रो पटक स्पष्टीकरण सोधिएको हो । अस्पतालमा कार्यरत दुवैलाई यसअघि पनि निलम्बन गरेर फुकुवा गरिएको थियो ।

अन्सारीलाई चार दिन र पाण्डेलाई तीन दिन डा. श्रेष्ठले निलम्बन गरिसकेका थिए ।

अस्पतालमा मकवानपुर जिल्लासहित बारा, पर्सा र चितवन जिल्लावासीले समेत नियमितरूपमा सेवा लिँदै आएका छन् ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार ००:००