७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

अर्थ

विकासको गति रोक्ने दुष्प्रयास भए : मन्त्री नेम्बाङ्ग




पाँचथर, २ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले विकासको गति रोक्ने दुष्प्रयास भएको वताउनुभएको छ ।
जारी विकास निर्माणको अभियानलाई रोक्ने दुष्प्रयासस्वरुप नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरकलह सिर्जना गरी सरकारलाई अगाडि बढ्न नदिने प्रयास गरिएको मन्त्री नेम्वाङको भनाई छ । शनिवार पाँचथरको हिलिहाङ गाउँपालिकामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले वर्तमान सरकारले विकासका महत्वपूर्ण आयोजनाहरु अगाडि बढाई ती आयोजनामा उल्लेख्य प्रगति हुँदा धेरैलाई टाउको दुखाई बनेको बताउनुभयो । “गत निर्वाचनमा जनतालाई भनेअनुसार हामी त खुरुखुरु विकास योजना अगाडि बढाई समयमा सम्पन्न गर्नतिर लाग्यौँ”, मन्त्री नेम्बाङले भन्नुभयो, “तर हाम्रै कतिपय साथीहरुलाई यसले टाउको पो दुखाएको रहेछ ।”
वर्तमान सरकार गठनपछि अगाडि बढेका रेलमार्ग, सुरुङमार्ग, मुख्य सडक छ लेनसम्म विस्तार, काठमाण्डौं बाहिर अन्तर्राष्ट्रिय विमानस्थल विस्तार जस्ता कार्यको दूरगामी महत्व रहेको र राष्ट्रलाई सबै कोणबाट फाइदा हुने उहाँले वताउनुभयो । यस्ता विकास निर्माण र जनतालाई सुविधा पु¥याउने कार्य रोक्न प्रयास गर्ने जो–कोही जनताको पक्षमा हुन नसक्ने मन्त्री नेम्वाङले वताउनुभयो । विकास र समृद्धि रोक्ने कार्य चाँही प्रतिगमन भएको वताउँदै मन्त्री नेम्वाङले अग्रगमनका लागि जनतामा जाने सरकारको निर्णयलाई परिवर्तनगामीले साथ दिनुपर्ने वताउनुभयो ।
घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको प्रष्ट्याउँदै मन्त्री नेम्बाङ्गले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई चुनावी तयारीमा जुट्न आह्वान गर्नुभयो । “सबै साथीहरु सक्रिय भई चुनावमा ठूलो पार्टी बनाउने र पुनः समृद्धिको अभियानको नेतृत्व गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनुपर्छ”, मन्त्री नेम्बाङ्गले भन्नुभयो, “बहुमत भएर मात्रै पनि हुदैन्, त्यसको सदुपयोग मार्फत मुलुकको मुहार फेर्न सक्षम नेतृत्व आवश्यक पर्छ ।” केपी शर्मा ओली प्रधानमन्त्री भएपछि राष्ट्रियताको सम्वद्र्धन, जनताका आवश्यकताको परिपूर्ति र विकासको गतिलाई द्रूत पार्न सदैव प्रयासरत रहेको बताउँदै मन्त्री नेम्बाङ्गले आम नेपालीले उहाँको प्रयासमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
पाँचथर जिल्लाको विकासले फड्को मार्नेगरी बजेट र विकासका योजना भित्र्याइएको चर्चा गर्दै मन्त्री नेम्बाङ्गले चाँडै जिल्लाका सबै घरमा विद्युत पु¥याउने, सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक पु¥याउने तथा सामाजिक सुरक्षाको क्षेत्रलाई झनै मजबुत गरिने बताउनुभयो ।
आम जनताको उपस्थिति र समर्थनले नेकपाको आधिकारिता र सूर्य चिन्ह प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा हुने उहाँले वताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्बाङ्गले प्रदेशसभा सदस्य आशारत्न जबेगू, जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देन, नेकपाका अध्यक्ष राजकुमार भण्डारी लगायतले समेत सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा हिलिहाङ–६ बाट नेपाली काँग्रेस र जनता समाजवादी पार्टी परित्याग गरी २५ जना स्थानीय नेकपामा प्रवेश गरेका थिए ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार ००:००