१९ बैशाख २०८१, बुधबार । May 1, 2024

Uncategorized

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न


२९ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ २९ माघ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा बिहीबार आयोजित एक समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी निरीक्षक आधारभूत तालिम १८० औं समूह पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स ११औं समूह का सर्वोत्कृष्ट प्रहरी निरीक्षक प्रवेश कार्की, सर्वद्वितीय तथा अध्ययन प्रथम प्रहरी निरीक्षक एल्जिना राई र सर्वतृतीय प्रहरी निरीक्षक रविन्द्र चन्दलाई पुरस्कार प्रदान गरेका छन् । साथै उनले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आफ्नो व्यवसायिक जीवन र करार सेवामा समेत गरी ४५ वर्ष नेपाल प्रहरीको प्रशिक्षण क्षेत्रमा योगदान पुर्याएर अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ तथा नगद पुरस्कार प्रदान गरेका छन् ।
त्यस्तै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी सेवामा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संगठन र देशको प्रतिनिधित्व गरी कराँते खेलमा महत्वपूर्ण योगदान पुर्‍याई २०७७ माघ २८ गतेको निर्णयानुसार प्रहरी हवल्दारबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका मन्देकाजी श्रेष्ठलाई दर्ज्यानी चिन्हबाट सुशोभन गरिएको छ । सोही अवसरमा उहाँले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा’ को लोकार्पण समेत गरेका छन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रतिष्ठानले कोरा नागरिकलाई युनिफर्म लगाउने राष्ट्रसेवकको रुपमा स्थापित गराउँदै आएको उल्लेख गर्दै यदाकदा प्रहरीबाट हुने अक्षम्य गलत काम कारवाहीको निम्ति उसलाई प्रशिक्षण प्रदान गर्ने निकाय पनि कुनै न कुनै सन्दर्भमा जिम्मेवार रहने तथ्यलाई स्वीकार गर्न सकेमा प्रतिष्ठानको श्रीवृद्धि र समय अनुरुप रुपान्तरण हुन सक्ने बताएका छन् ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रतिष्ठानले एक सामान्य नागरिक प्रहरीमा रुपान्तरण हुने प्रक्रियामा ज्ञान, सिप, कौशल सिकाउनुको साथै त्यस व्यक्तिभित्रको मनोवृत्तिलाई दूरगामी रुपमा सेवामा रहँदासम्म अटल रहने गरी सकारात्मक रुपमा परिवर्तन गराउन सकेमा त्यस प्रहरी कर्मचारीबाट हुने गलत व्यवहार निमिट्यान्न भएर जाने विश्वास व्यक्त गरेका छन् । प्रहरी कर्मचारीहरुमा प्रशिक्षणको क्रममा सिकाइएको ज्ञान ३० वर्षसम्म अक्षुण राख्न सक्ने गरी प्रदान गर्न सकियो भने त्यो उच्चतम प्रशिक्षण हुने चर्चा गर्दै त्यसतर्फ प्रतिष्ठान क्रियाशील हुनुपर्ने उहाँले बताएका हुन् ।
कार्यक्रममा त्रिभुवन विश्‍वविद्यालय व्यवस्थापन संकायका सहायक डीन डा। हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमले प्रहरी अधिकृतहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्दै यसले संगठनलाई सिद्ध हस्त प्रहरी प्रशासन विकासमा सहयोग गरेको बताएका छन् ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले धन्यवाद ज्ञापन गरेको उक्त समारोहमा सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, कार्यक्रमका सल्लाहकार प्रा.डा. राजीव विक्रम राणा, वरिष्ठ प्रहरी अधिकृतहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, विभिन्न प्रशिक्षण संस्थाका प्रतिनिधिहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २९ माघ २०७७, बिहिबार ००:००