५ श्रावण २०८१, शनिबार । July 20, 2024

Uncategorized

सत्य र न्यायका लागि नेपाली एक जुट हुनुपर्छः पूर्वप्रम भट्टराई


२५ पुस २०७७, शनिबार ००:००

0
Shares

चितवन । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट भएर लाग्नुपर्ने बताएका छन् । जसपाद्वारा आज यहाँ आयोजित जनप्रदर्शन तथा विरोधसभामा उनले भने, “जनविद्रोह र जनआन्दोलनबाट प्राप्त उलब्धिलाई रक्षा गर्ने हाम्रो दायित्व हो ।” उनले संविधानको प्रभूत्तालाई रक्षा गर्न जनसङ्घर्षको आवश्यकता आइपरेको भन्दै भूमिहीन किसानले भूमि पाउनुपर्ने, किसानले समयमै मल पाउनुपर्ने र महिला हिंसा अन्त्य हुनुपर्नेमा जोड दिए ।

डा भट्टराईले भ्रष्टाचारालाई निवारण गर्ने कार्यमा सरकार असफल भएको आरोप लगाउँदै मुलुकबाट गरिबी हटाउन बन्द उद्योग पुनःसञ्चालन हुनुपर्ने बताए। उनले सुविधाजनक बहुमतको सरकारले संसद् भङ्ग गरेर निर्वाचन गराउन नखोजेको आशंका व्यक्त गर्दै सरकारको कदम शान्ति सुरक्षा, राष्ट्रिय एकता र सुशासनप्रति अडिग रहनुपर्नेमा जोड दिए।

सोही पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राजनीतिक समस्याको निकास राजनीतिक तहबाट नै हुनुपर्ने बताउँदै जनताका अधिकार खोसिएकाले अदालतमा गएको धारणा व्यक्त गरे । उनले जनविद्रोह र जनसङ्घर्षका लागि आमसमुदायलाई तयार रहन आग्रह गर्दै काम चलाउ सरकारले मन्त्रिमण्डल विस्तार गर्नु उपयुक्त नभएको बताए । अध्यक्ष यादवले सरकारले राजनीतिक दललाई कमजोर पारेको, संवैधानिक अङ्गमा कब्जा जमाएको आरोप लगाउँदै शिक्षा, स्वास्थ्यमा सुधार नगरेको पनि बताए । उनले कृषिलाई आधुनिकीकरण गर्न सरकार सफल नभएको उल्लेख गर्दै जनताको बलिदानबाट प्राप्त गणतन्त्र, सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय सदस्य जयराम यादव, मृगेन्द्रकुमारसिंह यादव, भूराज राई र महिला नेत्री विमला अर्यालले सरकारको कामकारवाही संविधान विपरीत भइरहेको आरोप लगाए ।

प्रकाशित : २५ पुस २०७७, शनिबार ००:००