६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

समाचार

पत्थर देखाएर करोडौँको कारोबार गर्न खोज्ने एक समूह प्रहरीको फन्दामा



मंसिर १६, काठमाडौँ । पत्थर देखाएर करोडौँको कारोबार गर्न खोज्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलिले काभ्रेको पनौतीबाट नियन्त्रणमा लिएको हो ।

महानगरिय अपराध महाशाखाको टोलिले काभ्रे बेथानचोक गाउँपालिका–४ घर भई पनौती बस्दै आएका ६२ वर्षीय नवराज खड्का र झापा गौरादह नगरपािलका–१ घर भएका ३८ वर्षीय हरि खापुङ, झापा शिवसतशीधाम नगरपालिका–४ घर भएका ३७ वर्षीय यमकुमार गिरी, मोरङ बुढीगंगा गाउँपालिका–५ का २५ वर्षीय लोकबहादुर सार्की र रौतहट चन्द्रपुर नगरपालिका–१ घर भएका ३३ वर्षीय भीमबहादुर लामा रहेका छन् ।

पनौती बजारमा गैरकानुनी रुपमा विभिन्न पत्थरहरु ओसारपोसार गरी करोडौं मूल्य पर्ने भनि कारोबार हुन्छ भन्ने विशेष सूचना आएपछि मंसिर १२ गते महाशाखाबाट टोली खटाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

एसएसपी थापाले भने, करोडौँ मूल्यको धातुको कारोबार हुने सूचना पाउनेबित्तिकै व्यापारीको भेषमा महाशाखाका एसपी ईश्वर कार्कीको कमाण्डमा टोली खटाइएको हो ।’

सादा पोसाकमा हतियारसहित खटिएका एसपी कार्की आफै सुरुमा ग्राहक बनेर उनीहरुसँग सामान डिल गर्न पुगे । डिल गर्ने क्रममा उनीहरुले सुरुमा एसपी कार्कीलाई नक्कली धातुको पत्थर देखाएर झुक्याउने प्रयास गरेका थिए ।

एसपी कार्की भन्छन्, ‘सुरुमा उनीहरुले धातु देखाउन मानेका थिएनन् । पछि अनेकथरी भनेर कन्भिन्स गरेपछि धातुको पत्थर देखाउन मानेका हुन् । धातु देखाउने बित्तिकै उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।’

प्रहरीले उनीहरुको साथबाट विभिन्न रङका मोजनाइट, काइनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल.बि. डायमण्ड जस्तो पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५,०६१.९९ क्यारेट र पहेंलो धातुमा जडित औंठी ८.९३ ग्राम फेला पारी बरामद गरेको छ ।

उनीहरुको साथबाट बरामद सामानलाई परिक्षणका लागि नेपाल रत्न तथा आभूषण संघमा पठाइएको महाशाखाले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको छ ।

प्रकाशित : १६ मंसिर २०७६, सोमबार ००:००