२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

समाचार

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, केही दिन आइसियुमै राखिने



मंसिर ११, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि अझै केही दिन सघन उपचार कक्ष (आईसीयू)मै राखिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मंगलबार सबेरैदेखि पेट दुखेपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसपछि इलेक्टिभ भेन्टिलेटरमा राखिएको उनलाई बुधबार विहान आईसीयूमा सारिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार ओलीले बुधबार करिव आधा घन्टा कुर्सीमा बस्नुका साथै कालो चिया पिएका थिए । उनले ‘मिडियामा के आएको छ, मेरो स्वास्थ्यबारे ?’ भनेर चिकित्सकहरुसँग चासोसमेत राखेका थिए ।

अझै केही दिन आईसीयूमै राखिने

प्रधानमन्त्री ओलीलाई आईसीयूमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखिएको छ ।

प्रधानमन्त्री ओलीको अस्पताल बसाई ८–१० दिन भन्दा लामो हुनसक्छ । चिकित्सकका अनुसार एपेन्डिसाइटिसको अप्रेसन गरिएका विरामीलाई सामान्यत ८–१० दिन अस्पतालमा राखिन्छ ।
नेताहरुलाई समेत भेट गर्न दिइएको छैन । बुधबार दिउँसो अस्पताल पुगेका विपक्षी दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत भेट्न पाएनन् ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ००:००