५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

अर्थ

युवालाई सहुलियतपूर्ण कर्जा दिन तीन बैंकले सहमती पत्रमा हस्ताक्षर गरे



काठमाडौं । युवाहरुलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिन तीन बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद र बैंकहरुको सयुंक्त आयोजनामा भएको कर्जा घोषणा कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि बिकास बैंकले युवाहरुलाई सहुलियतपूर्ण कर्जा दिन सहमति जनाएका हुन् ।

उनीहरुले नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहमति जनाउँदै राष्ट्रिय युवा परिषदसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलसँग राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकरी अधिकृत किरण कुमार कार्की, नेपाल बैंकका सिइओ कृष्ण बहादुर अधिकारी र कृषि बिकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाएका छन् ।

युवाहरुलाई स्वरोजगार तथा उद्यमी बनाउनका लागि सरकारले गत वर्ष ल्याएको यो कार्यक्रम प्रभावकारी रुपमा अगाडि नबढेपछि परिषदले पुनः कार्यबिधि शंशोधनको माग गरेको थियो । अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जाक लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि संशोधन भएसँगै कार्यक्रम प्रभावकारी बनाउन परिषदले कदम चालेको बताइएको छ ।

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न सरकारले गत वर्ष युवा सहुलियतपूर्ण कर्जा कार्यक्रम घोषणा गरेको थियो ।

अब यि तीन बैंकले कार्यविधिमा उल्लेख भएका नौ प्रकारका कर्जा लक्षित समुदायलाई प्रवाह गर्ने बताइएको छ । यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन परिषदले एनएमबी बैंकको सहकार्यमा युवाहरुलाई साक्षरताको तालिम र परामर्श प्रदान जनाएको छ । यसै अवसरमा अर्थमन्त्री युवराज खतिवडाले ग्राहकहरुमाथि विभेद नर्गन बैकहरुलाई अनुराेध गरेका थिए ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ००:००