५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

मतदानस्थल पुर्याइंदै निर्वाचन सामग्री



मंसीर ११, पोखरा । जिल्ला निर्वाचन कार्यालय कास्कीले कास्की क्षेत्र २ को आगामी १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि निर्वाचन सामग्री मतदानस्थल पु¥याइँदैछन् । सोको लागि मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालय, कास्कीबाट बुधबार विभिन्न ५६ प्रकारका निर्वाचन सामग्री बुझेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले कास्की क्षेत्र २ मा हुने उपनिर्वाचनको लागि ३२ मतदानस्थलका लागि ८२ जना मतदान अधिकृतले ५६ प्रकारका निर्वाचन सामग्री बुझेको जानकारी दिए । उनका अनुसार निर्वाचन सामग्रीअन्तर्गत मतपत्र, मतपेटिका, सुरक्षण सिल, मतदाता परिचयपत्र मार्कर पेन, स्वस्तीक छाप रवर, मतपेटिका स्टिकर, लाहा, क्लीप पीन, स्केल, झोला, डोरी, सियो, धागो, कैँची, स्टाम्प प्याड, लगायत साना ठूला सामग्री छन् । ती सामग्री प्रहरीको सहयोगमा सम्बन्धित मतदानस्थलमा पु(याइनेछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन सामग्री बुझ्न कर्मचारीहरुको बुधबार दिनभरजसो भिड देखिन्थ्यो ।

कास्की २ को उपनिर्वाचनको लागि ३२ मतदानस्थलमध्ये ८२ मतदान केन्द्रमा उत्तिकै संख्यामा मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी कुल ४ सय १० जना कर्मचारी खटिएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत १ जना, सहायक मतदान अधिकृत १ जना, कर्मचारी २ जना र सहयोगी १ गरी कुल ५ जना रहने व्यवस्था मिलाइएको छ ।

चुनावको लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए ।

कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडामध्ये वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस क्षेत्रमा पर्दछन् । सबैभन्दा बढी पोखरा १७ स्थित पार्दी मावि ९क० मतदान केन्द्र र पोखरा १६, विन्ध्यवासिनी मावि, बाटुलेचौर ९क० मतदान केन्द्रमा समान १ हजार ३६ जना मतदाता रहेको निर्वाचन आयोग कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जनाए ।

निर्वाचन आयोगले मंसिर १४ गते देशैभर बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान समय तोकेको छ । कास्की २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । गत २१ कात्तिकमा २५ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारी दिएका एकले उम्मेदवारी फिर्ता लिएका हुन् भने ३ दलका उम्मेदवारको नाम समानुपातिक बन्दसूचीमै रहेकोले हटाइएको थियो ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

२०७४ सालको चुनावमा वाम गठबन्धनका रवीन्द्र अधिकारीले जित हासिल गरेका हुन् । उनले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत पाएकोमा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । सो बेलाको चुनावमा ७० हजार ६ सय ५१ मतदातामध्ये ४९ हजार ९ सय मत खसेको थियो ।

उम्मेदवारले बुधबार साँझसम्म आ–आफ्नो पक्षमा व्यापक प्रचारप्रसार गरेका छन् । बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचनको लागि कास्कीमा ३ दिन विद्यालय बन्द गरिएको छ ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ००:००