२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

समाचार

दुईतिहाईको दम्भले मातिए सरकार



मंसीर ६ पोखरा । नेपाली काँग्रेसका शीर्षनेताहरुले दुईतिहाइको दम्भले मातिएका कुनै पनि प्रसंसा गर्न योग्य काम नगरेको भन्दै नेकपा सरकारले लोकतन्त्रलाई समाप्त पार्न लागेको गम्भिर आरोप लगाएका छन् । उनीहरुले सरकारले संवैधानिक आयोगलाई समेत आफ्नो नियन्त्रणमा लिई तानाशाही प्रवृत्तितर्फ उद्दत रहेको टिप्पणी गरे ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) को वार्षिक साधारण सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाङ्क कोइराला लगायतले सो आरोप लगाएका हुन् ।

सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्लाई आफू अनुकुल हुने गरी प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति समक्ष लालमोहर लगाउन लाने तयारी गरिएको अध्यादेश संसदबाट पास हुन नदिने चेतावनी दिए । देउवाले भने, ‘संविधानले दिएका अधिकार कटौती गर्नेगरी संविधानको धारालाई काटेर संवैधानिक परिषद् आफ्नो आफ्नो अनुकूल हुने गरी ल्याइन लागिएको अध्यादेश संसद र सडकबाट पास हुन दिने छैनौँ ।’ प्रधानमन्त्री केपी शर्मा वली संवैधानिक परिषद्को कठपुतली समेत भएको उनले आरोप लगाए ।

कम्युनिष्ट प्रजातन्त्रवादी हँुदै होइनन्, जनताले भोट दिएर जिताए के गर्ने रु प्रश्न गर्दै उनले काँग्रेस एकपटक निर्वाचन हार्दैमा डराउनु पर्ने अवस्था नरहने बताए । चुनाव जित्नकै लागि राष्ट्रवादको खोल ओढेका केपी शर्मा ओली भारतले सीमा मिच्दा किन बोल्न सकिरहेका छैनन्, देउवाले प्रश्न गरे, केपीको खोक्रो राष्ट्रवाद अहिले प्रमाणित भएको छ । सरकारले न्यायपालिकालाई पङ्गु बनाउँदै छ । त्यसतर्फ न्यायक्षेत्रमा व्यक्तिहरु सचेत हुनै पर्छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी तानाशाही बनेको आरोप लगाए । आयोगहरुको नियुक्ति गर्ने, सरकारलाई चेक एण्ड व्यालेन्समा राख्ने संवैधानिक परिषद्लाई आफ्नो हातमा लिएर ओली तानाशाही व्यवस्था लाद्न खोज्दै छन्, उनले भने, संवैधानिक परिषद् आफ्नो हातमा लिनु लोकतन्त्र, संविधान र संघीयताविपरीत छ ।

महामन्त्री शंशाङ्क कोइरालाले लोकतन्त्र नै समाप्त पार्ने गरी केपी ओली र पुष्पकमल दाहाल अगाडि बढेको आरोप लगाए । कानून व्यवसायीले पनि कुन कुन अंगमा संविधानविपरीत कार्य भएका छन् त्यसका बारेमा खवरदारी गर्न जरुरी भएको सुझाए ।

प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार ००:००