३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

समाचार

‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’



नेपालको पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सम्बन्धलाई सुधार गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एसोसिएशन टुर्स एण्ड ट्राभल एजेन्ट ९नाट्टा०ले आज यहाँ आयोजना गरेको ‘नेपाल वायुसेवा निगमको जापान उडानलाई दीर्घकालीन तथा व्यवस्थित बनाउन आयोजित छलफल’का वक्ताहरुले पर्यटन बोर्ड र निगमको सम्बन्ध मजबुद भए मात्र नेपालमा जापानी पर्यटकको सङ्ख्या वृद्धि हुने बताएका हुन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुमधुर भए मात्र मुलुकमा धेरै पर्यटक भित्रिने बताउनुभयो । “नेपालमा जापानी पर्यटक भित्र्याउनका लागि जापानी राजदूतावाससँगको सम्बन्धलाई थप मजबुद बनाउनु जरुरी छ”, उहाँले भन्नुभयो ।

नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक टङ्कनिधि ढकालले नेपाल वायुसेवा निगमलाई बलियो बनाउन पर्यटन क्षेत्रकै महत्वपूर्ण भूमिका रहने बताउनुभयो । “पर्यटन व्यवसायीको अनुभव र हौसलाका कारण नै नेपाल वायुसेवा निगम चल्न सक्छ”, उहाँले भन्नुभयो ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले राज्यको सम्पत्तिका रुपमा रहेको नेपाल वायुसेवा निगमलाई बचाउने जिम्मा नेपालीको भएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड नयाँ गन्तव्यस्थलको खोजी गरी अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । पर्यटन व्यवसायीहरुले नेपाल वायुसेवा निगमको विकासका लागि समूह बनाएर अध्ययन तथा प्रचारप्रसारमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

सन् १९५८ मा स्थापना भएको नेपाल वायुसेवा निगमले हाल देश तथा विदेशमा विभिन्न जहाज मात्र सेवा प्रदान गर्दै आइरहेको छ । १२ वर्षपछि नेपाल–जापान हवाई सेवा विस्तार गरेको निगमलाई व्यवस्थित बनाई धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नाट्टाका महासचिव रमेश थापाले जानकारी दिनुभयो ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलबार ००:००