४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

समाचार

विज्ञापनलाई नियमन गर्न नयाँ इतिहास कोरिएको छ: सञ्चारमन्त्री




सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा बिहीबार राष्ट्रियसभाको बैठकमा ‘विज्ञापन (नियमन गर्ने)विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै । तस्वीर :रत्न श्रेष्ठ



राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकलाई आजको बैठकमा प्रस्तुत गर्नुभएको थियो । विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासमा मन्त्री बाँस्कोटाले विज्ञापनलाई नियम गर्ने क्षेत्रमा नयाँ इतिहास कोरिएको बताएका छन् । उनले भने , “ विधेयकले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित बनाउँछ, यो कार्यान्वयनमुखी रहेको छ ।” विधेयकलाई थप समृद्ध बनाउन सहयोग गर्नुभएका दुवै सदनका सांसदलाई मन्त्री बाँस्कोटाले धन्यवाद दिए । यसअघि सो विधेयकको सैद्धान्तिक छलफलमा सांसद ठेगेन्द्रप्रकाश पुरी र कोलम ओलीले भाग लिनुभएको थियो । यसैगरी बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकको प्रस्तावलाई गृहमन्त्री रामबहादुर थापाले बैठकमा प्रस्तुत गरेका थिए ।

प्रकाशित : २६ भाद्र २०७६, बिहिबार ००:००