२९ बैशाख २०८१, शनिबार । May 12, 2024

ग्लोबल

सर्वाधिक खोजी गरिएकी किशोरीको शंकास्पद शव फेला



मलेसिया, २८ साउन । मलेसियाको जङ्गलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ । ती किशोरीको खोजीमा मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ता संलग्न भएका थिए । नोरा क्वोरिन नाम गरेकी १५ वर्षीया किशोरी गत अगष्ट ४ मा बेपत्ता भएकी थिइन् । उनी बेलायतबाट घुमघामका लागि मलेसिया आएकी थिइन् । परिवारका सदस्यले उनी अपहरणमा परेको आशंका गरेका थिए, तर मलेसिया प्रहरीले बेपत्ता भएको भन्दै खोजी कार्य तिब्र बनाएको थियो । राजधानी क्वालालम्पुरबाट निकै टाढाको डुसुन रिसोर्ट नजिकको घना जंगलमा बेपत्ता भएको आशंकामा नोराको खोजी गरिएको थियो । तीनसय ५० जनाभन्दा बढी व्यक्ति उनको खोजीमा परिचालन गरिएका थिए । खोजीका क्रममा हेलिकप्टर, ड्रोन, तालिमप्राप्त कुकुर र गोताखोर प्रयोग गरिएको थियो । खोजीमा सघाउन बेलायत, आयरल्यान्ड र फ्रान्सका प्रहरीले पनि सहयोग गरेका थिए । विदेशमा बेपत्ता हुने बेलायतीको खोजीमा सहयोग गर्ने लुसी ब्ल्याकम्यान ट्रस्टले एक किशोरीको शव जंगलमा फेला परेको जनाएको छ । तर त्यो शव नोराकै हो भनिहाल्ने अवस्था नरहेको ट्रस्टको भनाई छ । उक्त ट्रस्टले थप विवरण दिन अस्वीकार गरेको छ । ट्रस्टले फेला परेको शव परीक्षणका क्रममा रहेको जनाएको छ । परिवारका सदस्यहरुले नोरालाई फेला पार्ने व्यक्तिलाई ११ हजार ९०० अमेरिकी डलर दिने घोषणा पनि गरेका छन् । सानैदेखि मानसिक रुपमा स्वस्थ नरहेकी नोरा राम्रोसँग बोल्न र लेख्न सक्दिनन् ।

प्रकाशित : २८ श्रावण २०७६, मंगलबार ००:००