३० बैशाख २०८१, आइतबार । May 12, 2024

ग्लोबल

२४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा



वासिङ्टन, १० असार (रासस-सिन्ह्वा) संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाईमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ । अमेरिकी समय अनुसार बिहान २.३० बजे फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी प्रक्षेपण गरिएको थियो । फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो । स्पेसएक्स कम्पनीको इतिहासमै यो निकै चुनौतीपूर्ण प्रक्षेपण हो, र यस अभियानमा करिब छ घण्टा लागेको थियो । स्पेसएक्सका अनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको बुस्टरलाई पनि यसपटक पुनः प्रयोग गरिएको थियो । अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित गरिरहेको स्पेसएक्सले निकट भविष्यमै मानिसलाई अन्तरिक्ष पर्यटनमा लैजाने योजना अघि बढाएको छ ।

प्रकाशित : १० असार २०७६, मंगलबार ००:००