६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

समाचार

विद्यालयका छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड



गलेश्वर । म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ ।

यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ ९एसइई०मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएकोे हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले एसइई परीक्षा प्रभावित नहोस् भनेर म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने जनाएको हो ।

मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई रु १५ हजार बराबरको प्याड खरीद गर्न चेक हस्तान्तरण गरेको छ ।

मन्त्रालयका अधिकृत अर्यालले छात्रामा हुने महीनावारीलाई सहजरूपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको बताए । “छात्रा महीनावारी भएको समयमा विद्यालयमा सहभागी नहुने गरेको पाउने गरेका छौँ, महीनावारीको समयमा कुनै पनि छात्राको एसइई परीक्षा प्रभावित नहोस् भन्नका लागि सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाएका हौँ”, अर्यालले भने ।

एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ । म्याग्दीमा दुई हजार २४२ विद्यार्थी सहभागी हुने परीक्षामा एक हजार १११ छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीलाई रु १५ हजार बराबरको चेक हस्तान्तरण गरेको छ ।

शैक्षिक सामग्री सहयोग

म्याग्दीको एक लायन्स क्लबले दुर्गम विद्यालयका विद्यार्थीलाई छात्रवृति तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।

बेनीमा रहको लायन्स क्लब अफ बेनी पिस सिटीले मङ्गला गाउँपालिका–३ बरंजामा रहेको दुई विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गरेको हो । शनिबार एक कार्यक्रममा जनप्रिय आधारभूत विद्यालय खर्क र महेन्द्ररत्न माध्यमिक विद्यालयका गरीब तथा विपन्न परिवारका विद्यार्थीलाई सो सहयोग प्रदान गरिएको हो ।

लायन्स क्लब र महेन्द्ररत्न मावि बरंजा छात्रवृति अक्षकोषको संयुक्त आर्थिक सहयोगमा महेन्द्र रत्न मावि कक्षा ११ मा अध्ययनरत् ६ जनालाई प्रति विद्यार्थी पाँच हजार र एक जनालाई १० हजार गरी ४० हजार छात्रवृत्ति प्रदान गरिएको छ ।

लायन्स क्लबले जनप्रिय मावि र महेन्द्र रत्न माविका ६ जना विद्यार्थीलाई एक वर्षका लागिप्रति विद्यार्थी ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । ती विद्यार्थीलाई एक वर्षका लागि कापी, कलम, झोला तथा प्रति विद्यार्थी एक जोर कपडा प्रदान गरिएको हो ।

प्रकाशित : ३ चैत्र २०७५, आइतबार ००:००