२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मुख्य खबर

युवाहरुको सीप र कलालाई राष्ट्रिय योगदानसँग जोडिने मन्त्री विश्वकर्मा



भक्तपुर, १२ माघ। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाका सीप र कलालाई राष्ट्रिय योगदानसँग जोड्न सरकार लागिरहेको बताउनुभएको छ ।

नेपाल सुनचाँदी हस्तकला व्यवसायी सङ्घले आज भक्तपुरको सानोठिमीमा आयोजना गरेको ‘नेपालको सुनचाँदी हस्तकला क्षेत्रमा युवा व्यवसायी कालीगढको वर्तमान अवस्था र सीपको स्तरीकरणमा सरोकारवाला निकायको भूमिका’ विषयक कार्यशाला गोष्ठीे उद्घाटनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपाली सहितको राष्ट्रिय लक्ष्य हासिल गर्ने सवालमा युवाशक्तिको मुख्य भूमिका हुने चर्चा गर्दै मन्त्री विश्वकर्माले भन्नुभयो,“युवालाई श्रम र उत्पादनसँग जोड्दै उद्यमशील, स्वरोजगार र आत्मानिर्भर बनाउन नसकेसम्म उक्त लक्ष्य पूरा गर्न गाह्रो छ ।”

कला, सीप र कालीगढको सम्मान एवं मूल्याङ्कन गर्न नसक्दा आर्थिक समृद्धिमा देश पछाडि परेको उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सांसद आशाकुमारी विश्वकर्माले कालीगढको क्षमता र सीपलाई राज्यले आर्थिक उपार्जनमा लगाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का निर्देशक टेकबहादुर मल्लले सुनचाँदीका गहना निर्माण सम्बन्धी तालीमका लागि पाठ्यक्रम तयार भइरहेको बताउँदै यसबाट हातमा सीप भएका तर आंैपचारिक शिक्षा हासिल नगरेकालाई कालीगढलाई सहज हने बताउनुभयो ।

कार्यक्रममा नेपाल सुनचाँदी हस्तकला व्यवसायी सङ्घका अध्यक्ष मोहन विश्वकर्माले देशले नेपालको कला, सीप र कालीगढको उच्च व्यवस्थापन नगर्दा नेपालका कालीगढ धरासायी बन्दै गएको बताउनुभयो ।

प्रकाशित : १२ माघ २०७५, शनिबार ००:००