२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

समाचार

हुकिङ गरी विद्युत् चोर्ने २४ जना पक्राउ



लहान । हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी रु दुई लाख ६० हजार राजश्व असुली गरेको प्रमुख यादवले बताउनुभयो । सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समानसमेत बरामद गरिएको छ ।

डेढ लाखको अवैध समान बरामद

प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब रु डेढ लाख बराबरको अवैध समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा चोरीपैठारी गरिरहेको अवस्थामा अवैध तुलसी ७५ प्याकेट र ब्ल्याक चुरोट ७५ प्याकेटलगायत रु ९५ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

यस्तै प्रहरी चौकी औरहीबाट खटिएको टोलीले पाइन्ट, सर्टको कपडा, धोतीलगायतका करीब रु ४५ हजार मूल्य बराबरको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : २७ पुस २०७५, शुक्रबार ००:००