१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

अदुवा मर्न थालेपछि कृषक चिन्तित



इलाम, २१ असोज (रासस) ः मुख्य नगदेबालीको रूपमा रहेको अदुवामा रोग लाग्न थालेपछि इलामका कृषक चिन्तित बनेका छन् ।

अदुवाको माउ झिकिसकेपछि गानो कुहिने र पहेँलिदै मर्न थालेपछि कृषक चिन्तित बनेका हुन् ।

एक दशकदेखि अदुवाखेती गर्दै आउनुभएका फाकफोकथुम–२ साप्तिनका गोपीकृष्ण तिम्सिनाले २० मन (४० किलोको एक मन) अदुवा रोप्नुभएको छ । पानी परेर घाम लाग्दा र माउ झिकेपछि अदुवा मर्न थालेको उहाँ बताउनुहुन्छ । पहेँलो भएर भदौ असोजमा मरेको अदुवाबाट नेक्सान मात्र भएको उहाँको भनाइ छ ।

अहिले मरेको अदुवालाई खनेर अर्को बाली लगाउँदा केही फाइदा हुन्छ तर त्यसले बीउको मूल्य पनि नउठ्ने तिम्सिनाले बताउनुभयो । फाकफोकथुम–३ आमचोकका लेखनाथ लुङ्गेलीले १३ मन अदुवा रोप्नुभएको छ । उहाँको अदुवाखेतीमा पनि कतैकतै पहँेलो देखिन थालेको बताउनुहुन्छ । अदुवा मर्ने गरे पनि रोप्न भने नछाडेको उहाँले बताउनुभयो ।

यसपालि भाउ नआएको कारणले आम्दानी लिन सकिएन, झन त्यसमाथि रोगले पनि अदुवा मर्न थाल्यो, लुङ्गेलीले भन्नुभयो “किसानलाई अदुवाबाट घाटा भएको छ ।” जिल्लामा तीन हजार २३३ हेक्टर जमिनमा अदुवाखेती भइरहेको जिल्ला कृषि विकास कार्यालय इलामका योजना अधिकृत प्रकाशमणि काफ्लेले बताउनुभयो ।

ढुसीजन्य रोगका कारणले अदुवाको गानो कुहिने हुँदा प्रत्येक वर्ष नयाँ ठाउँमा रोप्दा रोग नलाग्ने उहाँ बताउनुहुन्छ । कार्यालयले किसानलाई अदुवाखेतीसम्बन्धी कृषक पाठशाला तालीम सञ्चालन गर्दै आएको छ । जसले गर्दा पनि अदुवामा रोग लाग्ने सम्भावना कम हुन्छ ।

उत्कृष्ट बन्दै इलामको ह्वाइट टी

दुई पात एक सुइरोको चिया नै सबैभन्दा गतिलो भनेर त्यसैलाई सबैभन्दा बढी दाममा किनबेच गरिन्थ्यो । तर अब दुई पात एक सुइरोको चियाभन्दा ‘ह्वाइट टी’ उत्कृष्ट मानिन थालिएको छ ।

एक पात एक सुइरोबाट मात्र बनाइने गरेको ह्वाइट टी अहिले नेपालसहित विश्व बजारमै उत्कृष्ट कहलिएको छ ।

यो चिया इलामका चिया कारखानामा पनि उत्पादन हुने गरेको छ । इलाम नगरपालिका वडा नम्बर १ को साँखेजुङका दुई उद्योग, सूर्योदय नगरपालिकाको एउटा र देउमाई नगरपालिकाको पानीटारमा रहेको एउटा उद्योगले यो चिया उत्पादन गरिरहेका छन् । विश्व बजारमा सबैभन्दा महँगो मानिएका चियामध्ये ह्वाइट टी पनि एक हो ।

स्वाद र स्वास्थ्यका लागि अतिनै उपयुक्त मानिएको ह्वाइट टी उत्पादन हुन थालेपछि चिया कृषकलाई पनि फाइदा हुन थालेको छ । ह्वाइट टी बनाउने एक पात एक सुइरो पत्तीको मूल्य रु ३०० देखि ४०० सम्म कारखानाले उपलब्ध गराउने गरेका छन् ।

त्यसो त जुन पायो, त्यही बगानबाट टिपिएको पत्तीले यो चिया बनाइँदैन । अग्र्यानिक प्रविधिबाट उत्पादन गरिएको बगानको पत्ती, त्यो पनि एक पात एक सुइरो मात्र यसका लागि छनोट हुने गरेको साँखेजुङस्थित ग्रीनहिल अर्थोडक्स चिया उद्योगका प्रोप्राइटर टंक दाहालले बताउनुभयो ।

नेपाल, जापानसहित युरोपेली देशमा समेत बिक्रीका लागि जाने ह्वाइट टी महँगोमा बिक्री हुने गरेको छ । इलाममा उत्पादित ह्वाइट टी कारखानाबाटै प्रतिकिलो रु चार हजारसम्ममा बिक्री हुने गरेको छ ।

साँखेजुङस्थित हिमालयन साङ्ग्रिला टी स्टेटका व्यवस्थापक दिनेश रसाइलीले पनि किसानबाट हरियो पत्ती एकपात एक सुइरो प्रतिकिलो रु ३०० देखि ४०० मा लिने गरेको र बिक्री गर्दा प्रतिकिलो रु चार हजारसम्मले बिक्री हुने बताउनुभयो । यस कारखानाबाट उत्पादित धेरै चिया जर्मन निर्यात हुन्छ । यो चिया उत्पादनका लागि मौसमअनुसार फरक गुणस्तर हुने उत्पादकले बताएका छन् ।

वर्षात्मा कम गुणस्तरको र हिउँदको पहिलो चरणको पत्ती गुणस्तरीय मानिन्छ । ‘ह्वाइट टी’ ‘ब्लाक टी’ भन्दा महँगो मूल्यमा बिक्री हुने र धेरै स्वस्थकर हुने केन्द्रीय चिया उत्पादक सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद दाहाल बताउनुहुन्छ । अहिले इलाममा यो चिया दैनिक ५० किलोसम्म तयार हुने गरेको पाइएको छ ।

एउटा कारखानाले दैनिक १० देखि १५ किलो ह्वाइट टी बनाउँदै आएका छन् । यो चिया उत्पादन गर्ने कारखानाले मागअनुसार प्रशोधन गर्ने गरेका छन् । स्वदेशबाट नभई विदेशबाट मात्र माग आउने भन्दै अध्यक्ष दाहालले भन्नुभयो ‘ह्वाइट टी’ का लागि विदेशबाट मात्र बढी माग आउँछ । विदेशी व्यापारी पनि यही आएर स्वाद चाखेर मात्र चिया खरिद गर्छन् ।” यहाँका तीनजुरे, ग्रीनहिल, साङ्ग्रिला, गोर्खा टी स्टेटलगायतले ह्वाइट टी उत्पादन गर्दै आएका छन् ।

प्रकाशित : २१ आश्विन २०७४, शनिबार ००:००