३० बैशाख २०८१, आइतबार । May 13, 2024

मुख्य खबर

सामाजिक सुरक्षा भत्ता हिनामिना गर्नेविरुद्ध मुद्दा दायर



काठमाडौँ, ११ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता शीर्षकमा निकासा भएको रु दुई लाख ४५ हजार रकम भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटका तत्कालीन सुवानाउली गाविसका सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार तत्कालीन सुवानाउली गाविसका सचिवत्रय किरण न्यौपाने, चिरञ्जीवी जिसी, गोकर्णराज शर्मा र लेखा सहायक लक्ष्मीप्रसाद शर्माले आपसी मिलेमतोमा आर्थिक वर्ष २०६८÷६९ देखि आव २०७१÷७२ सम्मको सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको पाइएको छ ।

लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता वितरण नगरी बदनियतपूर्वक हिनामिना गरेको र गैरकानुुनी तवरले लाभ लिएको उजुरीका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उजुरी दर्ता गरिएको हो ।

आयोगले तत्कालीन गाविससचिव न्यौपानेले रु दुई लाख ४५ हजार, जिसीले रु एक लाख ७५ हजार, शर्माले रु ९४ हजार र लेखा तथा प्रशासन सहायक लक्ष्मीप्रसाद शर्माले रु पाँच लाख ७९ हजार भ्रष्टाचार गरेको पाइएकाले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै पालुङटार नगरपालिका गोरखामा कार्यरत सब इञ्जिनियर सुनिल देवकोटालाई भूकम्पपीडितलाई घर निर्माणका लागि प्रदान गरिएको अनुदान रकमको दोस्रो किस्ता भुक्तानी दिने सिलसिलामा सिफारिस गरेबापत रु २५ हजार घूस माग्दा माग्दै आज पक्राउ गरेको छ ।

प्रकाशित : ११ भाद्र २०७४, आइतबार ००:००