३० बैशाख २०८१, आइतबार । May 12, 2024

मुख्य खबर

परराष्ट्रमन्त्री महराद्वारा ‘पासपोर्ट’ सार्वजनिक



काठमाडौँ, २३ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राहदानी लिने प्रक्रियाका विषयमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले तयार गरिएको सन्देशमूलक वृत्तचित्र ‘पासपोर्ट’ आज सार्वजनिक गर्नुभएको छ ।

राहदानी विभागको सक्रियतामा तयार पारिएको उक्त वृत्तचित्रमा राहदानी लिनका लागि आवश्यक प्रक्रिया तथा कन्सुलर सेवा विभागबाट प्रवाह गरिने सेवाका विषयमा पर्याप्त जानकारी उपलब्ध गराइएको छ ।

झन्डै २४ मिनेट लामो वृत्तचित्रको सार्वजनिक भएसँगै सर्वसाधारणले इन्टरनेटबाटै राहदानी तथा कन्सुरसम्बन्धी जानकारी प्राप्त गरी लाभ लिन सकिने विश्वास लिइएको छ ।

उक्त वृत्तचित्र विभागको वेबसाइट, युट्युब, फेसबुकलगायतका अन्य सामाजिक सञ्जालमार्फत हेर्न सकिने विभागले जनाएको छ ।

मन्त्री महराले नारायणहिटीस्थित राहदानी विभागको विभागीय जानकारीसमेत लिनुभयो । उहाँले लाइभ इनरोलमेन्ट सेन्टर, राहदानी आवेदन फारम प्रशोधन कक्ष, गुनासो व्यवस्थापन शाखा तथा गुणस्तर परीक्षण शाखाको अवलोकन गर्नुभयो ।

विभागको अवलोकन तथा जानकारी लिएपश्चात् परराष्ट्रमन्त्री महराले विभागको कामकारबाहीलाई सेवाग्राही मैत्री बनाउन निर्देशन दिँदै सर्वसाधारणका गुनासोलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा परराष्ट्र सचिव शङ्करदास बैरागीले विभागको कार्यसम्पादन, विद्यमान समस्या र भविष्यमा आइपर्नसक्ने नीतिगत तथा व्यावहारिक चुनौतीका विषयमा जानकारी दिनुभएको थियो ।

विभागका महानिर्देशक रामजी खड्काले विभागबाट प्रवाह हुने सेवा र सो कार्यमा देखिएका समस्याका विषयमा मन्त्रीलाई जानकारी गराउनुभयो ।

यसैबीच भूतपूर्व ब्रिटिस गोरखा सैनिक संयुक्त सङ्घर्ष समितिले परराष्ट्रमन्त्री महरालाई भेटेर पूर्वब्रिटिस सैनिकका मागका विषयमा पहल गरिदिन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयमा सङ्घर्ष समितिको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री महरालाई आज भेटेर सो माग प्रस्तुत गरेको हो । मागबारे जानकारी गराउँदै सांसद दीलमान पाख्रिनले २०० वर्षअघिदेखिको समस्या समाधानमा पहल गरिदिन अनुरोध गर्नुभयो ।

प्रकाशित : २३ असार २०७४, शुक्रबार ००:००