१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

जनताको भावनालाई समेटेर काम गर्नुहोस् : नेता सिंह



काठमाडौँ, १२ असार । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय सरकार स्थायी सरकार भएकाले स्थानीय जनताको भावनालाई समेटेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेस चन्द्रागिरि नगरपालिका र काँग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज संयुक्तरुपमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा सम्मान एवम् वनभोज’ कार्यक्रममा नेता सिंहले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा भएका कमी कमजोरीलाई हेरेर जनताको आवश्यकतालाई सम्बोधन गर्नुहोस् ।”

नेता सिंहले स्थानीय तहका जनप्रतिनिधिले गरेको कामका आधारमा प्रान्तीय र केन्द्रीय निर्वाचनमा जनताले विश्वास गर्ने भएकाले जनताको मन जितेर अगाडि बढ्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँले दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ जिल्लामा आठ निर्वाचन क्षेत्र जितेको काँग्रेसले स्थानीय तहमा सोचेजस्तो परिणाम ल्याउन नसकेको पनि बताउनुभयो ।

सांसद ध्यानगोविन्द रञ्जितले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको कार्यान्वयन पनि काँग्रेसकै सरकारले गर्ने बताउनुभयो । उहाँले अब मुलुकमा तीन तहको निर्वाचन गरी आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा नेता सिंहले चन्द्रागिरि नगरपालिकामा काँग्रेसको तर्फबाट स्थानीय तहमा विजयी जनप्रतिनिधिलाई सम्मान गर्नुभएको थियो ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००