१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

उनन्तीस ठाउँ जोखिमपूर्ण



चितवन, ११ असार । एकातर्फ त्रिशूली नदी र अर्काेतर्फ अग्लो पहाड भएको नारायणगढ–मुग्लिन सडक खण्डका २९ ठाउँलाई भूगर्भविद्ले पहिरोको दृष्टिकोणले उच्च जोखिमको रुपमा औँल्याएका छन् ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता बिएन सिंहको नेतृत्वको पाँच सदस्सीय टोली र भूगर्वविद् टुकलाल अधिकारीले गरेको छुट्टाछुट्टै अध्ययनले ती ठाउँलाई जोखिमपूर्ण भनी सावधानी अपनाउन सुझाव दिएका छन् ।

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार जलवीरेदेखि मुग्लिनसम्मका स्थान जोखिमपूर्ण रहेका छन् । उक्त क्षेत्र सात किलोमिटरभित्र पर्दछ । अन्य क्षेत्र जलवीरेबाट नारायणगढतर्फ पर्दछन् । खनालका अनुसार अध्ययनमा तत्काल र दीर्घकालीन रुपमा जोखिम हुन सक्ने क्षेत्रलाई छुट्याइएको छ ।

भूगर्वविद् अधिकारीले मुख्यरुपमा कालीखोला आसपासको मात्र अध्ययन गरी प्रतिवेदन बुझाउनुभएको छ भने सिंहको टोलीले समग्र नारायणगढ–मुग्लिन सडकखण्डको प्रतिवेदन पेस गर्नुभएको छ । ती प्रतिवेदनमा जोखिमबाट बच्नका लागि अल्पकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको पनि सुझाव दिइएको छ । वायो इञ्जिनियरिङ गर्ने, जाली लगाएर चट्टानलाई रोक्ने, भित्तामा पर्खाल लगाउने, खस्न लागेका ढिस्का झार्ने, भिरालो भागमा जालीले भूस्खलन रोक्ने, पहाडमाथिका जोखिमयुक्त वस्ती हटाउनेलगायत सुझाव दिइएको छ ।

सो सडक खण्ड विस्तारका क्रममा भित्तो काट्ने काम भइरहेको छ । कतिपय ठाउँमा हाल पाँच दशमलव पाँच मिटर मात्रै फराकिलो सडक रहेको छ । ती ठाउँमा ९ मिटरदेखि ११ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ । ती ठाउँमा ६० मिटरसम्म अग्ला पहाड छन् । गत वर्षको भूकम्प र हाल ब्रेकरले पहाड फोर्दा अन्य भाग पनि हल्लिएर कमजोर भएकाले कुनै पनि समय पहिरो जान सक्ने भूगर्वविद्ले बताएका छन् ।

यसअघि ठेकेदार कम्पनीले विष्फोट गराउन माग गरेको भए पनि परामर्श कम्पनीले भूगर्वका हिसाबले विस्फोट गराउन उपयुक्त नहुने सुझाव दिएको थियो । गत वर्ष जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले समेत विभिन्न दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरेको थियो । उक्त सडक हुँदै दैनिक ११ हजार सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००