१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

तराई– पहाड जोड्ने साहित्य लेख्नुपर्छ : डा प्रश्रित



काठमाडौँ, १० असार । साहित्यकार डा मोदनाथ प्रश्रितले नेपाली साहित्य र संस्कृति रुपान्तरणका क्षेत्रमा दिएको योगदानका बारेमा आज यहाँ परिचर्चा गरिएको छ ।

उहाँको ७६ औं जन्मोत्सवका अवसरमा “प्रश्रित प्रतिष्ठान” उपत्यका शाखाले आयोजना गरेको शुभकामना एवम् सांस्कृतिक परिचर्चा कार्यक्रममा समाज पछ््यौटे र शासन व्यवस्था सामन्ती निरङ्कुश भएको समयमा प्रश्रितका कृतिले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइयो । प्रश्रितका “मानव”, “देवासुर सङ्ग्राम”, “नारी बन्धन र मुक्ति”, “जीवाणुदेखि मानवसम्म”, “आमाका आँशु” आदि लोकप्रिय कृति छन् ।

साहित्यकार प्रश्रितले विज्ञानको क्षेत्रमा काम गर्नेलाई समाजले विश्वकर्मा, कामी र सार्की भनेर अछुत व्यवहार गरेको देखेर आफूले त्यसैबाट प्रेरणा लिएर साहित्य सिर्जना गरेको बताउनुभयो । देव र दानवका कथाका नाममा समाज ग्रस्त भएकाले मृत्युपछि स्वर्गमा पुग्ने बाटो तय गर्नमा बढी ध्यान हुने विसङ्गत चिन्तनका कारण समाजमा प्रगति हुन नसकेका बारेमा आफूले देवासुर सङ्ग्राममाम उल्लेख गरेको बताउनुभयो ।

उहाँले अबका साहित्यकारले तराई– पहाड र हिमाल जोड्नसक्ने सिर्जना गर्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो । संस्कृतिविद् सत्यमोहन जोशीले प्रश्रित विचारक, चिन्तक र साधक भएकाले उहाँका कृतिले मुलुकका सबै संस्कृति र भावनालाई समेट्न सकेको र त्यसभित्रका अन्तरसम्बन्ध र अन्तर कलहबारे मेहिन विश्लेषण गरी समाजले सिक्नुपर्ने सन्देश दिनुभएको बताउनुभयो ।

समालोचक प्रा राजेन्द्र सुवेदीले अग्लो परैबाट देखिन्छ, माथिबाट केही खस्यो भने अग्लोमैपर्छ भने झैँ प्रश्रित असल सिर्जनाबाट उचाइ प्राप्त व्यक्ति भएकाले केही कमजोरी भएमा पनि उहाँकै टाउकामा खस्ने टिप्पणी गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले समाजलाई सही बाटोमा लान सन्देश दिने प्रश्रितका कृति अमूल्य भएको बताउनुभयो ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवालीले प्रश्रितले साहित्यका विविध विधा र सांस्कृतिक रुपान्तरणका क्षेत्रमा योगदान दिनुभएको बताउनुभयो ।

सो प्रतिष्ठानका उपत्यका शाखाका अध्यक्ष प्राडा कृष्णप्रसाद घिमिरे प्रश्रितका कृति र व्यक्तित्वलाई देशव्यापी बनाउन सकिए सामाजिक रुपान्तरणमा टेवा पुग्ने बताउनुभयो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००