८ बैशाख २०८१, शनिबार । April 21, 2024

मुख्य खबर

उत्कृष्ट अङ्क ल्याउने दलित विद्यार्थीलाई उच्च शिक्षाका लागि सहयोग



महोत्तरी, १० असार । दलित समुदायका शिवशङ्कर महराले यस वर्षको एसइइ परीक्षामा ‘ए प्लस’ ल्याएको भन्दै गौशालास्थित एक निजी विद्यालयले उच्च शिक्षाको लागि लाग्ने सम्पूर्ण रकम ब्यहोर्ने प्रतिबद्धता जनाएको छ ।

गौशाला नगरपालिका–१ स्थित भानुभक्त मेमोरियल सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलले सोही विद्यालयबाट एसइइ परीक्षामा सहभागी भई ३.७० जिपिए ल्याएर सफलता हासिल गरेको भन्दै महरालाई निःशुल्क उच्च शिक्षा अध्ययन गर्न रकम उपलब्ध गराउने भएको हो ।

शुक्रबार एसइइ परीक्षामा सहभागी विद्यार्थीको सम्मानमा आयोजना गरेको बिदाइ तथा बधाई कार्यक्रममा विद्यालयबाट उपलब्ध रु ५० हजार तथा विद्यालयका कर्मचारीबाट चन्दास्वरुप रु ८० हजार गरी रु एक लाख ३० हजार बराबरको रकम महराको उच्च शिक्षाका लागि सङ्कलन भएको विद्यालयले जनाएको छ ।

अत्यन्त गरिब एवम् दलित समुदायका महरा पढ्नमा जुझारु र मेधावी भएकाले यस भन्दा अगाडि विद्यालयले निःशुल्क रुपमा अध्यापन गराउँदै आएको विद्यालयका प्रिन्सिपल राधेश्याम सापकोटाले बताउनुभयो । घरपरिवारको आर्थिकस्थित अत्यन्त कमजोर भएपछि उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नपरोस् भनेर सहयोग गरेको सापकोटाले जानकारी दिनुभयो ।

विद्यार्थी महराले दिनरात के खाने भनेर हरपल चिन्तित रहने आफ्नो परिवारको अवस्था रहेको र विद्यालयले आफूलाई जीवनमै सबैभन्दा ठूलो गुन लगाएको बताउनुभयो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००