३० बैशाख २०८१, आइतबार । May 13, 2024

मुख्य खबर

चिनियाँ संस्कृति सप्ताह सुरु



काठमाडौँ, ८ असार । चीनको संस्कृतिलाई नेपालमा प्रवद्र्धन गर्ने उद्देश्यले ‘चिनियाँ अमूर्त सांस्कृतिक संम्पदा सप्ताह’ आजदेखि यहाँ सुरु भएको छ ।

स्थानीय लैनचौरमा एक सातासम्म चल्ने सांस्कृतिक सप्ताहमा चिनियाँ कलाकारले परम्परागत चिनियाँ कला प्रदर्शन गर्नेछन् । प्रदर्शनीमा चीनको तियान्जिन नगरबाट आएका कलाकारले बनाएका चिनियाँ परम्परागत कला पनि राखिएको छ । सप्ताहमा तियान्जिन अमूर्त सांस्कृतिक सम्पदा र तियान्जिन सांस्कृतिक तथा नवीन उत्पादन प्रदर्शनी, चिनियाँ चङ्गा बनाउने तथा उडाउने कलालगायत गतिविधि हुने बताइएको छ ।

नेपालका लागि चिनियाँ राजदुत यु होङले सप्ताहको उद्घाटन गर्दै चीनको संस्कृतिलाई नेपालीले नजिकबाट हेर्न पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले संस्कृति सम्पदा संरक्षणका क्षेत्रमा काठमाडौँ महानगर तथा चीन मिलेर काम गर्न सकिने पनि बताउनुभयो ।

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदाको विकास र संरक्षणमा चीनको अनुभव उत्कृष्ट रहेको बताउँदै काठमाडौँको सांस्कृतिक सम्पदाको विकास र पुनःनिर्माणका लागि सहकार्य गर्न आग्रह गर्नुभयो ।

चाइना कल्चर सेन्टरका निर्देशक यिन कुन्सोङले चीनको कला तथा संस्कृतिले विश्व सम्पदामा महत्वपूर्ण योगदान गरिरहेको जानकारी दिँदै चिनियाँ सांस्कृतिक सम्पदा प्रदर्शनीले चीन र नेपालबीच सम्झदारी र मित्रता बढाउने बताउनुभयो ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००