८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

सुडान काण्डका आरोपित पूर्वप्रहरी अधिकारी जेल चलान



काठमाडौँ, ७ असार । सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घटनाका आरोपित नेपाल प्रहरीका दुई पूर्वप्रहरी महानिरीक्षकसहित चार प्रहरी अधिकारी जेल चलान भएका छन् ।

पूर्वप्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब प्रहरी महानिरीक्षक दीपककुमार श्रेष्ठलाई आज जेल चलान गरिएको सर्वाेच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । चारै जनालाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

सजाय छुटका लागि उहाँहरुले आज सर्वाेच्च अदालत पुगी आत्मसमर्पण गर्नुभएको थियो । फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पु¥याएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले गत वैशाख १७ गते ओमविक्रम राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई एक÷एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने फैसला सुनाएको थियो ।

सामान खरिद गर्दा योजनातर्जुमा, लागत अनुमान, दरभाउ पत्र लिने, खरिद ठेक्कापट्टा दिने, भुक्तानी दिनेलगायत काममा नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदार मिलेर नेपाल सरकारलाई रु २८ करोड ८१ लाख ६१ हजार २२९ हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेको अदालतले ठहर गरेको थियो ।

सुडान घोटला प्रकरणमा पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई छ महिना कैद र रु ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह थाङ्ग्देनलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने सोही दिन सर्वोच्चले फैसला सुनाएको थियो । घटनाका अन्य दोषी हालसम्म फरारको सूचीमा छन् ।

प्रकाशित : ७ असार २०७४, बुधबार ००:००