२५ बैशाख २०८१, मंगलबार । May 8, 2024

मुख्य खबर

विपद्मा मानवीय सुरक्षा र जनधनको क्षति न्यूनीकरणका लागि सहज प्रविधि



काठमाडौँ, ६ असार । प्राकृतिक विपद्को समयमा सञ्चारको सहज पहुँच स्थापना गर्न सरकार, उद्धारकर्ता, दूरसञ्चार सेवा प्रदायक र नागरिककोे भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ ।

सूचना तथा सञ्चार मन्त्रालय, दूरसञ्चार प्राधिकरण र एसिया प्रशान्त क्षेत्रको टेलिकम्युनिटीले आयोजना गरेको ‘विपद् व्यवस्थापनमा सूचना तथा सञ्चार’ विषयक कार्यशालामा सहभागीले विपद्मा मानवीय सुरक्षा र जनधनको क्षति न्यूनीकरण गर्न सूचना नै पहिलो माध्यम रहेको बताए ।

भूकम्पको जोखिमयुक्त मुलुकमा नेपाल पर्ने भएकाले पनि पूर्व तयारीलाई विशेष प्राथमिकतामा राख्नुपर्ने र ‘गोरखा भूकम्प’का कारण परेको समस्या एवम् त्यसबाट प्राप्त अनुभवलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

गोरखा भूकम्पका कारण एकाध मात्रै टेलिकमका टावर तथा भौतिक संरचनामा क्षति भए पनि ठूलो क्षति नभएका कारण सञ्चारको क्षेत्रमा त्यति धेरै समस्या उत्पन्न नभए पनि आगामी दिनमा थप पूर्व तयारी नगरिए भयावह अवस्था उत्पन्न हुने उनीहरुको धारणा थियो ।

विपद्सँग जुध्न सक्ने नेटवर्कको विकास तथा विस्तार, कानुनी संरचना, नीति निर्माण र त्यसको सहज कार्यान्वयन, संसारका सबैभन्दा ठूला विपद्बाट गुज्रेका मुलुकको अनुभवबाट शिक्षा लिँदै नयाँ प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको थियो ।

यस्तै एसिया प्रशान्त क्षेत्रमा टेलिकमको क्षेत्रमा अनुशरण गर्नुपर्ने प्रविधि, अनुभव तथा रणनीतिको विषयमा समेत समान धारणा बनाएर जानुपर्नेमा जोड दिइयो ।

सूचना तथा सञ्चारमन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विपद्सँग जुध्ने जनशक्ति, प्रविधि तथा सेवाका विषयमा सरकार प्रष्ट रहेको बताउनुभयो ।

विपद्बाट सिक्दै, जुध्दै नयाँ आधारमा मानवीय सुरक्षाका लागि अगाडि बढ्ने प्रविधिको खोजी आजको प्रमुख आवश्यकता रहेकामा जोड दिँदै उहाँले सरकारले गोरखा भूकम्पबाट पनि धेरै पाठ सिकेको उल्लेख गर्नुभयो । उहाँले विपद्का समयमा पहिलो कार्य नै मानवीय सुरक्षा भएकाले त्यसका लागि टेलिकम्युनिकेसन नै सबैभन्दा बढी महत्वपूर्ण माध्यम हुने हुँदा त्यसको सहज पहुँच र विस्तारमा सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नेपालको दूरसञ्चार क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको, प्रविधि विस्तारमा जोड दिइएको र सफलता पनि प्राप्त भएकाले आगामी दिनमा थप सुधार तथा अन्वेषण गर्नुपर्ने बताउनुभयो ।

दूरसञ्चार सेवा प्रदायकलाई प्रविधिमैत्री बनाउन, विपद्सँग जुध्न सक्ने र जस्तोसुकै अप्ठ्यारो अवस्थामा समेत सेवा दिन सक्ने बनाउन प्राधिकरणले निर्देशन दिएको उल्लेख गर्नुभयो ।

एसिया प्रशान्त टेलिकम्युनिटीका उपमहासचिव मासानोरी कोन्दोले प्रविधिलाई सहज बनाउँदै विपद्सँग जुध्ने र मानवीय सुरक्षामा केन्द्रित गराउने विषयमा आफूहरु क्रियाशील रहेको बताउनुभयो ।

कार्यशालामा एसिया प्रशान्त क्षेत्रका १५ मुलुकका टेलिकमका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित : ६ असार २०७४, मंगलबार ००:००