२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

मुख्य खबर

चुनावमा उठ्न राज्यले दियो, दलहरुले दिएनन्



ताप्लेजुङ, २३ जेठ । यस जिल्लामा सबैभन्दा पहिले उम्मेदवारहरुको टुङ्गो नेकपा माओवादी केन्द्रले लगायो । पार्टीभित्र बृहत् छलफल पछि टिकट पाएका उम्मेदवारहरु भोट माग्न गाउँ–गाउँ गए । फुङ्लिङ नगरपालिकाको उपप्रमुखको टिकट पाएपछि मलिसा थापा यक्सो पनि एक महिनासम्म भोट माग्दै घरदैलो अभियानमा खटिए । प्रचारप्रसारमा घर परिवार र आफन्त सबैले सहयोग गरिरहेका थिए । तर, अहिले फुङ्लिङको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएपछि यक्सोको टिकट खोसिएको छ । यो निर्णयले पार्टीभित्र लामो समयदेखि योगदान गरेका महिलाहरुको अधिकार खोसिएको र यसले समग्र महिला वर्गलाई नै पछाडि पार्ने यक्सोको भनाइ छ ।
आफू पार्टीको एउटा इमान्दार सिपाही भएकाले पार्टीको आधिकारिक निर्णय मान्ने तर एजेण्डा भन्दा व्यक्ति हाबी भए त्यसले पार्टीलाई फाइदा नहुने उनले बताए ।
यता काँग्रेसले नगरपालिकाको उपप्रमुखमा महिला सङ्घकी अध्यक्ष समेत रहेकी मीना गुरुङलाई अगाडि सा¥यो र गुरुङ पनि चुनावी अभियानमा विशेष गरी महिलाका साथमा समग्र नगरको समृद्धिको एजेण्डा लिएर प्रचारमा लाग्नुभयो । तर उहाँलाई पनि माओवादीसँग गठबन्धन भएपछि हट्न लगाइयो । यसले गुरुङलाई नमिठो अनुभूति भएको छ । ‘यसले हाम्रा महिला दिदीबहिनीहरुको मनोबल गिराएको छ, तर फेरि पनि पालो आउँछ भनेर सम्झाउँदैछु ।’
आफूले चुनिएर जनताको सेवा गर्ने अवसर यो पटक नपाए पनि अब आउने जनप्रतिनिधिलाई पछाडि परेका महिलाहरुको पक्षमा काम गर्न दबाब दिने गुरुङ बताए।
दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको र प्रत्यक्ष निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा सांसद पद जितेको एमालेले फुङ्लिङ नगरपालिका, सिरिजङ्घा र याङ्वरक गाउँपालिकामा महिला उम्मेदवार नै तयार पारेको छैन । सिदिङ्वामा रेनुका राईलाई उपप्रमुखमा अघि सारिए पनि लिम्बुवान्सँग तालमेल भएपछि उनलाई पनि हट्न लगाइएको छ । अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना महिला हुनै पर्ने बाध्यकारी नियम भएपनि यी क्षेत्रमा एमालेले अहिलेसम्म प्रमुख पदका उम्मेदवारको नाम मात्रै सार्वजानिक गरेको छ । छत्रपति प्याकुरेलसहित प्रमुखमा सबै पुरुष छन् । फुङ्लिङको उपप्रमुखमा भने पार्टीले महिलालाई नै उठाउने निर्णय गरिसकेको एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले बताए । धेरै आकांक्षी भएकाले एक–दुई दिनभित्रै नाम टुङ्गो लाग्ने उनको भनाइ छ । दलहरुले अहिलेसम्म जिल्लाभरमै एकजना महिलाको मात्र वडा अध्यक्षमा नाम अगाडि ल्याएका छन् । एमालेले श्रीजङ्घा १ सिनामको वडाध्यक्षमा उर्मिला थेवे बाहेक कुनै दलले पनि वडा प्रमुखमा महिलालाई स्थान दिएको छैन ।
नगरपालिकामा काँग्रेसको प्रमुख र माओवादीको उपप्रमुख पदमा तालमेल भएको छ । तालमेल अनुसार काँग्रेसका केशव प्रसाद दाहाललाई प्रमुख र माओवादीका बमबहादुर भट्टराई (तारा) लाई उपप्रमुखको प्रत्याशी बनाइएको छ । यी दलले गाउँपालिकामा पनि समीकरणको प्रयास गरिरहेका छन् । प्रयास सफल भएमा त्यहाँबाट पनि महिला नआउने पक्का छ । आठराई त्रिवेणी गाउँपालिकामा काँग्रेसले ममता लिम्वू, एमालेले मञ्जु भट्टराई र माओवादीले मनु लिम्वू मादेनलाई उम्मेदवार बनाएका छन् । यस्तै, फक्ताङ्लुङ गाउँपालिकामा युडेन शेर्पा, फुलमाया लिम्वू र तारादेवी लिम्बूलाई उपाध्यक्षमा उठाउने निर्णय क्रमशः काँग्रेस, एमाले र माओवादी केन्द्रले गरेका छन् । यहाँ पनि समीकरणको चर्चा चलिरहेको दलहरु बताउँछन् । मिक्वाखोला गाउँपालिकामा रुद्रकुमारी लिम्बू, मीना केदेम र चन्द्रकला गुरुङ, मेरिङदेनमा नरमाया केदेम, कल्पना तुम्बाहाम्फे र अमृता शेर्पा, मैवाखोलामा सजना लिम्वू, कौशिला वनेम र सुस्मिता वनेम तीन दलका उपाध्यक्षका उम्मेदवार रहेका छन् ।
याङवरकमा कृष्ण कुमारी निरौला र सीता राई, सिदिङ्वामा मञ्जु तामाङ र कृष्णकुमारी कडरिया, सिरिजङ्घामा ज्ञानमाया चौहान गौतम र बुद्धिमाया बेघालाई क्रमशः काँग्रेस र माओवादीले उपाध्यक्षमा उठाउने निर्णय गरेपनि समीकरणको कुरा पक्का भइसकेकाले पुरुष नै आउने स्रोत बताउँछ । सङ्घीय लिम्बुवान् मञ्चले अहिलेसम्म याङ्वरक गाउँपालिकाको प्रमुखमा रीता मादेनलाई उठाउन बाहेक अरु कुनै दलले प्रमुखमा महिलालाई अगाडि सारेका छैनन् । नगरपालिकाको उपप्रमुखमा मात्रै उम्मेदवारी दिएका राप्रपा र नयाँ शक्तिले पनि महिलालाई अवसर दिएका छैनन् ।
राप्रपा जिल्ला अध्यक्ष चन्द्र मादेनले महिलाहरु सक्षम भइनसकेकाले उठाउन नसकिएको बताए । राप्रपामा शान्ति मादेनले उपप्रमुखमा दावी गर्दै आएका छन्।
अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष चित्राकुमारी मेन्याङवो पार्टी नेतृत्वको अनुदार नीतिले महिलाहरुकै मात्रै दल खोल्नु पर्ने आवश्यकतालाई औँल्याएको बताउँछन् । उनले भने – ‘सक्षम महिला नभएका हैनन्, अवसर नदिइएको हो ।’
काँग्रेस ताप्लेजुङका सभापति लीलादेवी बोखिमले उम्मेदवार टुङ्गो लगाउँदा केही स्थानमा महिलालाई पछाडि पार्नु बाध्यता भएको बताइन् । ‘सबै आकांक्षीलाई उम्मेदवार बनाउन सकिँदैन, उहाँहरुलाई अरु ठाउँमा अवसर प्रदान गरेर योगदानको कदर र सम्मान गर्ने वोखिमको भनाई छ ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलबार ००:००