८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

‘न्हाय्कं झ्या दरबार’ मल्लकालीन शैलीमा निर्माण गर्न सुझाव



भक्तपुर, १३ वैशाख । ०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भक्तपुर दरबारस्क्वायरको ‘न्हाय्कं झ्या दरबार’ अर्थात सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
भूकम्पपछि टेकोको भरमा अडिएको विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर क्षेत्रको लाय्कुचोकको उत्तर खण्डमा रहेको सिंहध्वाका दरबार पुरानै शैलीमा पुनःनिर्माण गर्न पुरातत्वविद्हरुले जोड दिएका हुन् ।
भूकम्पको स्मरण गर्दै पुरातत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेजको संयुक्त पहलमा सिंहध्वाका दरबारको पुनःनिर्माण विषयक छलफलमा ख्वप कलेजका सह–प्राचार्य रजनी जोशीले कार्यपत्र प्रस्तुत गर्दै विस १७५५ मा राजा भूपतेन्द्र मल्लले निर्माण गरेको सिंहध्वाका दरबारलाई ‘भक्तपुर दरबारको प्रवेशद्वार’ नाम दिएर हरजोग तथा हिग्गिन्सले भने १२ औं शताब्दीमा निर्माण गरेको र प्रवेशद्वारका सिंहहरु १७ औं शताब्दीको भएको उल्लेख गरेको बताए ।
मालती चोक प्रवेशद्धार दरबारको रुपमा यहाँ अहिले राष्ट्रियकला संग्रहालय छ । सिंहध्वाको प्रवेशद्धारमा जोडा सिंहबाट पश्चिमतर्फ मल्लकालीन शैली र सिंहदेखि पूर्व अर्थात स्वर्णद्वारतर्फ चुनले पोतेको राणाकालीन ९निओ क्लासिक० शैली दरबार गरी दुई खण्डमा विभाजित छ ।
०७२ वैशाखको भूकम्पले सिंहध्वाका दरबार (लाल बैठक) मा ठूलो क्षति पुगेको छ । अबको पुनःनिर्माण पुरानै शैलीमा गर्नुपर्ने इतिहासविद् डा।पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । मल्लकालीन शैली एवं पहिचान झल्किने परम्परागत शैली अपनाएर पुनर्निर्माण गर्नुपर्ने उनको भनाई थियो ।
सिंहध्वाका दरबारको मूलद्धारमा देवताको मूर्तिमा अभिलेखसहित ढुङ्गाको एक जोडी सिंह रहेको छन् । बाहिरीद्धारको दुवैतिर संसारकै दुर्लभ र उत्कृष्ट मूर्तिकलाको रुपमा रहेको ढुङ्गाको हनुमान र नरसिंहको मूर्ति अवस्थित छ ।
इन्जिनियर डा. प्रेमनाथ मास्के, पुरातत्व विभाग विश्वसम्पदा शापा प्रमुख डा. सुरेशसुरज श्रेष्ठ, संस्कृतिकर्मी एवं साहित्यकार तेजेश्वरबाबु ग्वंग, सांसद नारायणमान बिजुक्छें, सांसद प्रेम सुवाल, राष्ट्रियकला संग्रहालय प्रमुख सरस्वती सिंह, पुरातत्व विभाग भक्तपुर शाखा प्रमुख मङ्गला प्रधान, इन्जिनियर मोहनकृष्ण श्रेष्ठ, संस्कृतिकर्मी ओम द्यौभडेल लगायतले सिंहध्वाकालाई परम्परागत मौलिक मल्लकालीन शैलीमै पुनर्निर्माण गुर्नपर्ने जोड दिएका थिए ।
विभिन्न मल्लकालीन शैलीको आधारहरुलाई अपनाउँदै स्थानीय, सरोकारवाला व्यक्तित्वहरुको सल्लाह÷सुझावको आधारमा सिंहध्वाका दरबार पुनर्निर्माण गरिने नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेलले बताए ।

प्रकाशित : १३ बैशाख २०७४, बुधबार ००:००