८ बैशाख २०८१, शनिबार । April 20, 2024

समाचार

गोहीको आक्रमणमा परेका अर्जुनलाई थप सहयोग



रत्ननगर (चितवन), १३ वैशाख । चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा गोहीले चपाएर पनि बाँच्न सफल १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि थप रु एक लाख ३४ हजार सहयोग प्राप्त भएको छ । आजसम्ममा कुल रु तीन लाख ५० हजारभन्दा बढी रकम सङ्कलन भइसकेको छ ।
‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ शीर्षकमा समाचार बाहिर आएपछि उनको उपचारका लागि देश र विदेशमा बस्ने नेपालीबाट यसरी सहयोग प्राप्त भएको हो । उनको सहयोग अभियानका अभियन्ता विकास पाठकका अनुसार पछिल्लो पटक चितवन समाज इजरायलबाट रु ५१ हजार तथा चितवन समाज युएईबाट रु ३३ हजार पाँचसय रकम प्राप्त भएको छ ।
चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको पहलमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले आज जानकारी दिनुभयो । यस्तै, ब्रदर्स नेपाल र हाम्रो जगतपुरको पहलमा सोही अभियानमा लागेका स्थानीयवासी कृष्ण शर्मामार्फत आज रु ५० हजार आर्थिक सङ्कलन भएको छ ।
यसअघि उनको उपचारका लागि करिब रु दुई लाख ३० हजारभन्दा बढी सङ्कलन गरिसकिएको छ । आजसम्म उनको उपचारका लागि साढे तीन लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन भइसकेको अभियन्ता विकास पाठकले जानकारी दिए ।
सङ्कलित रकममध्ये रु ४९ हजार अस्पतालमा बुझाएको र रु एक लाख २९ हजार परिवारको नाममा खोलिएको बैंक खातामा राखिएको छ । जम्मा भएको बाँकी रकम पनि आजै बैंकमा राखिने पाठकले बताउनुभयो । अझै अस्पतालमा तिर्न बाँकी रहेको ऋण खोजेर ल्याएको रकम फिर्ता गरेपछि रकम बाँकी रहेमा उनको शिक्षामा खर्च गरिने पाठकले बताउनुभयो । हालका लागि भने आर्थिक सङ्कलन अभियान स्थगित गरिएको छ ।
यसअघि उनको उपचारका लागि अमेरिकामा बस्दै आएका तनहुँ निवासी ध्रुवराज गिरीले रु ५१ हजार, चितवन सेवा समाज बहराइनबाट रु ३५ हजार ५००, दुबईमा रहनुभएका दिलीप विश्वकर्माको अगुवाइमा रु ५१ हजार तथा विभिन्न सङ्घसंस्था र व्यक्तिले सहयोग गरेका थिए ।
फेसबुक अभियान ‘हाम्रो जगतपुर’ र ‘हाम्रो पटिहानी, राम्रो पटिहानी’ले समेत सहयोग जुटाइरहेको छ । गत चैत २५ गते भरतपुर महानगरपालिका २३ जगतपुर घैलाघारीका बालक अर्जुनलाई साथीसँग पौडी खेल्ने क्रममा राप्ती नदीमा गोहीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित : १३ बैशाख २०७४, बुधबार ००:००