७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

बिचार

दीर्घ विद्वानको हृस्व संबतः विक्रम संबत



विक्रम संवत नेपालको होइन, भारतको हो । त्यसैले नयाँ नेपालमा विक्रम संवत त्यागेर अरु देशमा जस्तै इस्वि संवत चलाउनुपर्छ भन्ने हल्ला गाइंगुुइँ गुन्जिन थालेको बेला परम्परादेखि नै चलाउँदै ल्याइएको विक्रम संबतलाई हटाउनु हुँदैन भन्ने विचार राम्रै हो ।

विगतमा हिमवतखण्डको अधिकांश स्थानहरुमा विक्रम संवत चलेको कुुरो पनि सोहृै आना सहि हो र राम्रो पनि हो । विक्रम संवत भारतको होइन, नेपालको हो भन्ने कुरो ‘वास्तविकता’ हो भने त झन साहृै राम्रो ! तर प्रमाण दरिलो नभए यो ‘वास्तविकता’ अत्यन्तै नराम्रो अवास्तविकता पनि बन्न सक्छ । विक्रम संवत लामो वा छोटो हुुनु ‘वास्तविकता’ हो भने त राम्रै हो किनभने सत्य संधै सुन्दर हुन्छ (सत्यम् शिवम् सुन्दरम्) । तर जबर्जस्ति छोटो बनाइएको हो भने त के हुन्छ ? उत्तर स्पष्ट नै छ ।

कुरो के भने रुपरेखा साप्ताहिक (वर्ष १४, अंक १५, पाना ४) मा प्रकाशित ‘विक्रम संवतको वास्तविकता’ भन्ने लेखमा विक्रम संवत नेपालको मौलिक संवत हो भन्ने सनसनिपूर्ण ‘वास्तविकता’ प्रकाशमा ल्याइएको रहेछ । अझ अर्को सनसनिपूर्ण ‘वास्तविकता’ के रहेछ भने विद्वान दीर्घ राज प्रसाईंज्यूले विक्रम संवतलाई हृस्व बनाइदिनु भएको रहेछ । घैंटामा घाम त लागे, तर विक्रम संवतको वास्तविकता यहि नै हो त ?

कुरो शुुरु गरौं विक्रम संवत नेपालको मौलिक संवत हो भन्ने सवालबाट । प्रसाईज्यूले विक्रम संवत भारतको हो भन्ने ‘कतिपय’ विद्वानहरुको विचारलाई खण्डन गर्दै भनेका छन, ‘नेपालका सूर्यवंशी राजाहरुको प्रभावले चन्द्र गुप्तले आफूले पनि “विक्रमादित्य” उपाधि ग्रहण गरेका थिए । तर चन्द्र गुप्त द्वितीय बाहेक इशापूर्ब ५७ वर्ष अगाडि भारतमा विक्रमादित्य नाम भएका राजा कुनैपनि राजबंशमा छैनन् ।’ माने ‘भारतमा विक्रम संवत प्रारम्भ गर्ने विक्रमादित्य नाम भएका राजाको भरपर्दो तथ्यहरु छैनन् ।’ त्यसैले विक्रम संवत भारतको होइन । ठिकै छ, भारतको होइन रहेछ । तर त्यसको माने विक्रम संवत नेपालको हो ? के छ भरपर्दो तथ्य ? भाषा वंशावली को एउटा कथा (किंवदन्ती)मा साँखु (काठमाण्डौं)को एउटा मन्दिरमा ‘विक्रमादित्य’ राजाको टाउको रहेको उल्लेख भएको रहेछ । राम्रै कुरो हो । त्यो टाउकाको पूजा अहिले सम्म पनि वज्राचार्य वंशका पुजारीले गर्दारहेछन् । प्रसाईज्यूको विचारमा, राजा विक्रमादित्यले नेपालमा राज्य गरेको ‘ज्वलन्त प्रमाण’ यहि हो रे । यहि हो भर पर्दो तथ्य ? कथा सत्य हुन्छ ।

दोस्रो कुरो, साँखु भन्ने ठाउँमा कसैले शिवजीको लिंग (शिव लिंग) पुजा ग¥यो भने त्यो ठाउँमा शिवजी बसेछ भन्न सकिन्छ ? ‘विक्रमादित्य’ नाम गरेको कुनै व्यक्ति नेपालमा छन भने उनि वास्तविक विक्रमादित्य हुन सक्छन ? उदाहरणको लिगि, नेपालमा कृष्ण नाम गरेको कोहि राजा रहेछन । यसको आधारमा भगवान श्री कृष्ण यादव भारत (आयोध्या)का होइनन, नेपालका हुन् भन्ने प्रमाण बन्छ ? नेपालमा कसैको नाम हरिश्चन्द् छ भने राजा हरिश्चन्द्र काँशी (वनारस)का होइनन्, नेपालका हुन् भन्नु वास्तविकता हुन्छ ? भारतमा पनि त इशापूर्ब ५७ वर्ष अगाडि विक्रमादित्य नामधारी एक जना राजा (चन्द्र गुप्त द्वितीय) त रहेछन् । त्यसैले विक्रम संवत भारतको होइन, नेपालको हो ? प्रसाईज्यूको प्रमाणले त विक्रम संवतलाई यता न उतिको संवत बनाएको मात्र देख्छु म त !

अब कुरो रह्यो हृस्व विक्रम संवतको । ठिकै छ, किरातहरुलाई जितेर संस्कृतभाषि वैशालीपति (वैशाल्याधिर्पतीबलि), माने विहारी (मधेशी) लिच्छवीहरुले नेपाल खाल्डोमा राज्य गरेका रहेछन् । तर उनिहरु नेपाल खाल्डोमा इशाको चौंथो शताब्दीको वरिपरि मात्र आएका हुन् भन्ने कुरो गलत हो भन्ने प्रमाण देखाउने तागत कसैसंग छ जस्तो मलाई लाग्दैन (छ भने त देखाउनु प¥यो, अहिले सम्मको इतिहासको कायापलट किन नगर्ने ?) प्रसाईज्यूले भन्नुभएजस्तै यदि ‘विक्रमादित्य’ उपाधिधारी लिच्छवी वंशका पहिला राजाकै नामबाट विक्रम संवत चलाइएको हो भने त अहिले विक्रम संवत २१ औं शताव्दी होइन करीव १७औं शताव्दी मात्र ठहरिन आउँछ । प्रसाईज्यूको ‘वास्तविक’ विक्रम संवत १७औं शताव्दी मान्ने कि २१ औं शताव्दी (२०६६) मान्ने ? फेरिपनि विक्रम संवत यता न उतिको संवत भएन र ?

प्रकाशित : १० कार्तिक २०७३, बुधबार ००:००