१५ बैशाख २०८१, शनिबार । April 28, 2024

Breaking

पशुपतिको गुरुयोजनामा सरोकारवालाको भावना समेटिन्छ : मन्त्री श्रेष्ठ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको पूर्वाधार विकास
तथा भौतिक संरचना निर्माणको लागि बनाइने गुरुयोजनामा सरोकारवाला सवैको अपनत्व हुनुपर्ने बताउनुभएको छ ।

पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमनका साथै पशुपति क्षेत्र विकास कोषको ब्रिफिङ लिन बिहिवार पशुपति क्षेत्र
पुग्नुभएका मन्त्री श्रेष्ठले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना निर्माण अन्तिम चरणमा रहेकोले सम्वद्ध
सरोकारवालाको भावना समेटिने बताउनुभयो ।
नेपालको सभ्यता र पहिचान बोकेको संस्कृति तथा मूर्त अमूर्त सम्पदा संरक्षणका लागि गुरुयोजना आवश्यक रहेको मन्त्री
श्रेष्ठले बताउनुभयो । धार्मिक र आध्यात्मिक तीर्थस्थलको रुपमा रहेको पशुपति क्षेत्र विकास कोषमा अनियमितताको
सन्देश जानु दुस्खद पक्ष रहेको मन्त्री श्रेष्ठको भनाइ छ । कोषका कर्मचारीहरुलाई सेवा भावले काम गर्न उहाँले निर्देशन
दिनुभयो ।
पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रमा
अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउनुपर्ने बताउनुभयो । मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनमा पनि ध्यान
दिन कोषका पदाधिकारीहरुलाई उहाँले निर्देशन दिनुभयो । पाशुपत क्षेत्रको विकासले धार्मिक पर्यटन विकाससँगै राष्ट्रिय
अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ
मन्दिर क्षेत्रमा पुनर्निर्माणको अवस्था तथा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत संचालित कार्यक्रमबारे जानकारी
दिनुभएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले पशुपतिनाथ मन्दिरमा पुजा गर्नुका साथै पशुपतिनाथ मन्दिर क्षेत्रमा
निरीक्षण तथा अनुगमन गर्नुभएको थियो ।

प्रकाशित : २३ असार २०७९, बिहिबार ००:००