३० बैशाख २०८१, आइतबार । May 12, 2024

मुख्य खबर

समृद्धिको बाटोमा अवरोध आएपछि संसद् र पार्टीको पुनर्गठन गर्नुपर्यो : मन्त्री नेम्बाङ्ग



पाँचथर, २८ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिको यात्रामा अवरोध आएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिनिधिसभाको पुनर्गठन गर्नुपरेको बताउनुभएको छ ।


सरकारले करीव तीन वर्षको अवधिमा सुशासन, विकास र समृद्धिका आधार तयार पार्ने कामहरुको थालनी गरेपनि पार्टीको असहयोग र संसद्को अवरोधले यी कामहरुमा बाधा आएकाले दुवै संस्थाको पुनर्गठन गर्नुपरेको मन्त्री नेम्बाङ्गको भनाई छ । “काम गर्न पाइन भनेर प्रधानमन्त्रीले कसलाई भन्ने ?”, मन्त्री नेम्बाङ्गले भन्नुभयो, “अदालतमा न्याय पाइन भन्ने कि विपक्षी दल काँग्रेसलाई भन्ने ?” पाँच वर्षका लागि सरकार सञ्चालन गर्न प्राप्त जनमत खोस्न खोजिएपछि प्रधानमन्त्रीले जनताको मत लिन जाने निर्णय लिएको बताउँदै मन्त्री नेम्बाङ्गले निर्वाचनको तयारीमा लाग्न सबै पक्षलाई आह्वान गर्नुभयो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड कालोपत्रे कार्यको आज पाँचथरको याङवरक गाउँपालिका—१ च्याङथापूमा शिलान्यास गर्दै मन्त्री नेम्बाङ्गले संसद् र पार्टी पुनर्गठन गरी समृद्धिको अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।


राष्ट्रियताको सम्वद्र्धनमा हालसम्म हुन नसकेका कामहरु वर्तमान सरकारले गरेको तथा विकास निर्माणमा छलाङ मारेपछि आफ्नै दलबाट पुरस्कारस्वरुप प्रधानमन्त्रीलाई अपदस्त गर्ने प्रयास भएको उहाँले बताउनुभयो । मध्यावधि निर्वाचनबाट बहुमत सहितको सरकार निर्माण गर्ने र समृद्धिको अभियानको अगुवाई गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुलुकको नेतृत्व सुम्पनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । नेकपाको आधिकारिता नेकपाकै कार्यकर्ताले दिने भन्दै मन्त्री नेम्बाङ्गले आम कार्यकर्ता र जनताको समर्थन केपी शर्मा ओली नेतृत्वको नेकपालाई रहेको बताउनुभयो ।


मन्त्री नेम्बाङ्गले मध्यपहाडी लोकमार्गको ५१ किलोमिटरको चिवाभञ्ज्याङ थर्पू खण्ड कालोपत्रेको शिलान्यास गर्नुभएको हो । बाँकी खण्डको यसअघि नै कालोपत्रे भइसकेको भएपनि उद्गम खण्डको कालोपत्रे हुन सकेको थिएन । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजनाका निर्देशक दीपक केसीका अनुसार मन्त्री नेम्वाङको पहलमा बजेट सुनिश्चित भएपछि लोकमार्ग कालोपत्रेको बोलपत्र सम्पन्न भएको हो । शिलान्यासपछि मन्त्री नेम्वाङले भारतको सीमासम्म दुई लेनको कालोपत्रे सडक पु¥याउने कार्य सामान्य नभएको बताउनुभयो । “विगतमा पहाडमा कालोपत्रे हेर्न हामी नै सिक्किम जान्थ्यौं । तर अहिले सिक्किमबाट नेपाली सीमासम्म सडकको ट्र्याक आइपुग्दा हामीले दुई लेनको सडक पु¥यायौँ”, मन्त्री नेम्बाङ्गले भन्नुभयो, “चाँडै राष्ट्रिय विद्युत प्रशारण लाइन मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पु¥याउछौँ ।”
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेका अनुसार कूल रु. दुई अर्ब, ३१ करोड, ६१ लाखको लागतमा यो खण्डको कालोपत्रे हुन लागेको हो । सडकको ट्रयाक खोल्ने काम भने एक दशकअघि नै सम्पन्न भइसकेको छ । ५१ किलोमिटरको उद्गम खण्डलाई तीन प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको छ । पाँचथरमा मध्यपहाडी लोकमार्ग १११ किलोमिटर रहेको छ ।

प्रकाशित : २८ माघ २०७७, बुधबार ००:००