३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मुख्य खबर

मोरङमा लिम्बू समुदायको उधौली उत्सव हुने



मोरङ । चासोक तङ्नामको अवसरमा मोरङको पथरीमा उधौली फुङ्सोक उत्सव हुने भएको छ ।

किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समिति र सिरिजंगा स्मृती धार्मिक वन समितिको संयुक्त आयोजनामा मंसिर २३ देखि २६ गतेसम्म खेलकुद तथा संस्कृतिक कार्यक्रमसहित उत्सव हुने भएको हो । चासोक तङ्नामको अवसरमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, धनुष वान हान्ने, छेलो, लङ जम्प प्रतियोगिता राखिएको कियाचु नगर सचिव विक्रम लिम्बूले बताए ।

कार्यक्रममा लिम्बू समुदायको मङ्लाङ, केलाङ, येवालाङ, हाक्पारे ख्याली प्रस्तुत हुने र गायक ताराप्रकाश लिम्बू लगायत कलाकारहरुको प्रस्तुतिमा सांगीतिक मनोरन्जनात्मक कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष पर्शुराम चोङ्बाङले बताए ।

कार्यक्राममा १ नम्बर प्रदेशका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो लिम्बू, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको उपस्थितमा कार्यक्रम हुने आयोजकले बताएका छन ।

पथरी स्थित सिरिजंगा स्मृति वनमा हुने कार्यक्रममा रोटे पिङ लगायतको खेल सन्चालन हुने बताइएको छ । लिम्बू समुदायको उत्सव मनाउने बारे आयोजित पत्रकार सम्मेलनमा किरात याक्थुङ चुम्लुङ १ नम्बर प्रदेश समिती सदस्य शन्तोष सेरेङ, पूर्व केन्द्रीय सदस्य गोविन्द ओनेम लिम्बू, पूर्व जिल्ला सचिव प्रेम वनेम, भलिवलको नगद पुरस्कार प्रायोजक पर्शुराम कार्की, कोपिला लिम्बू लगायतको उपस्थिती थियो ।

भलिबल विजेता उपविजेतालाई पुरुषतर्फ ५५-३५ र महिलालाई ३५-२५ हजार नगद, ट्रफी र प्रमाण पत्र वितरण गरिने कियाचु नगर सचिव विक्रम लिम्बूले बताए ।

प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार ००:००