२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

सेफ्टी एशोसिएसशन अफ नेपाल (सान) नामक छाता संस्था गठन



१ मंसीर, काठमाडौं । ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको संस्थागत संरक्षण, प्रबद्र्धन र विकास गर्ने उद्देश्यले यस क्षेत्रमा कार्यरत ब्यक्तिहरुको आइतबार काठमाण्डौमा भएको एक भेलाले सेफ्टी एशोसिएसशन अफ नेपाल (सान) नामक छाता संस्था गठन गरेको छ ।
एक सदस्य पछिबाट थपगर्ने गरी गठित संस्थाको तदर्थ समितिको संयोजकमा दुर्गालाल शर्मा रहेका छन्, सहसंयोजकमा राजेश राजबाहक, सचिवमा कुलप्रसाद राई र कोषाध्यक्षमा सत्तिश अर्याल रहेकाछन् भने सदस्यहरुमा दीपक लामिछाने, युवराज दर्नाल, चिरञ्जिवी सापकोटा र नारायणप्रसाद चौंलागाई रहेको छ ।
नेपालजस्तो विकासन्मोख देशमा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको क्षेत्रमा कानूनी र नीतिगत ब्यवस्था साथै संरचनागत अभाव रहेको औंल्याउँदै यस प्रकारका रिक्ततालाई चिरी सवल रुपमा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रको विकास गर्नका लागि नेपाल सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्ने उद्देश्य संस्थाको रहेको नवगठित संस्थाका संयोजक दुर्गालाल शर्माले जानकारी दिए ।
यस क्षेत्रको उपयूक्त कानूनी तथा नीतिगत ब्यवस्थाको अभाव र त्यसका लागि कार्यान्वयन गर्ने सरकारी निकायमा संरचनागत ब्यवस्था नहुँदा जोखिमपूर्ण अवस्थामा मानिसहरुले कार्य गर्दै आइरहेका छन् । कुनै दूर्घटना भएमा त्यसबाट हुनसक्ने क्षतिलाई कम गर्नका लागि सरकार तथा सम्बद्ध सरोकारवाला निकायहरुलाई संस्थाले झकझक्याउने कार्य गर्नेछ ।

प्रकाशित : १ मंसिर २०७६, आइतबार ००:००