६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

धिमाल सङ्ग्रहालय निर्माण हुँदै




पूर्वका आदिवासी धिमालहरूले आफ्नो कला, संस्कृतिको जर्गेना गर्ने उद्देश्यले व्यवस्थित सङ्ग्रहालय निर्माण थालेका छन् । आफ्नो संस्कृति संरक्षणका लागि झापाको दमकमा धिमालहरूले जातीय विकासका लागि सांस्कृतिक सङ्ग्रहालय निर्माण थालेका हुन् ।

धिमाल सांस्कृतिक सङ्ग्रहालयका लागि स्थानीय स्रोत, प्रदेश र सङ्घीय सरकारको सहयोगमा निर्माण शुरु गरिएको सङ्ग्रहालय निर्माण समितिले जनाएको छ । दमक नगरपालिकाले धिमाल जातिलाई आफ्नो नगरको पहिलो नागरिकको रूपमा घोषणा गरेको छ । सङ्ग्रहालयका अध्यक्ष तथा दमक नगरका पूर्वनगर उपप्रमुख लोकबहादुर धिमालले अहिले सङ्घ र प्रदेश सरकारको रु ४५ लाख बजेटमा दमक–९ स्थित सङ्ग्रहालयको जग्गामा धमाधम पूर्वाधार निर्माण थालिएको बताए ।

दुई वर्षअघिदेखि निर्माण शुरु गरिएको सङ्ग्रहालयमा परम्परागत रूपमा उपयोग हुँदै आएका गहना, बाजा, खेतीपातीका औजार, उपकरण, मूल पेशा माछा मार्ने शैली र औजार, विभिन्न सांस्कृतिक उत्सवमा प्रयोग हुने पोशाकलगायतका सामग्री राखिने छन् । ती सामग्री लोप हुँदै गएपछि सामुदायिकस्तरबाट सङ्ग्रहालय निर्माण थालिएको हो ।

यसअघि नगरपालिकाको प्रवेशद्वारमै प्रथम नागरिक धिमाल जातिको सालिक राखिएको छ । नगरभित्र धिमाल जातिको लोपोन्मुख संस्कृति संरक्षणका लागि सङ्ग्रहालय स्थापनाले आउने पुस्तामा संस्कृति पुस्तान्तरणमा समेत सहयोग पुग्ने सङ्ग्रहालयका अध्यक्ष धिमालले बताए। उहाँका अनुसार निर्माणाधीन सङ्ग्रहालयमा धिमाल समुदायको जन्म, शिशु स्याहार, खेती–किसानी, माछा मार्ने चलन, हाट–बजार, विवाह, वृद्धावस्था तथा मृत्यु संस्कारसमेत झल्कने प्रतिमाहरू अलग–अलग टहरामा निर्माण भइरहेका छन् । परिसरको मध्यभागमा एक पोखरी निर्माण गरी नगरको आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।

पछिल्लो समय धिमाल जातिको महत्वपूर्ण संस्कृति खोप्रा ९खेतीमा गोठ बस्ने चलन०, डाग्राइनी ९सुडेनी० लोप भइसकेका छन् । यस्तै माजिवाराङ्ग गाउँ प्रमुख हुने, श्रीजात, जात्री मेलासमेत लोपोन्मुख अवस्थामा पुगेका छन् । विश्वमा नेपालको विविधतालाई चिनाउन पनि लोपोन्मुख जाति र संस्कृतिको संरक्षण गर्नुपर्ने धिमाल जातिका विज्ञ डा सोमबहादुर धिमालले बताए ।

विसं २०६८ को गणनाअनुसार नेपालमा धिमाल जाति २६ हजार २९८ रहेका छन् । लोपोन्मुख जाति र उनीहरूको संस्कार, संस्कृति संरक्षणले विविधताको पहिचान, पर्यटन र खोज अध्ययनका लागि समेत राम्रो स्रोतका रूपमा सङ्ग्रहालय उपयोगी हुने दमक–९ का वडाध्यक्षसमेत रहनुभएका धिमालका अगुवा रामबहादुर धिमालले बताए।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार ००:००