५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Life Style

कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन



काठमाडौँ, १८ चैत (रासस)  नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ््यै छ ।

दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेपनि भाषा परीक्षाका लागि माग भन्दा झण्डै ९ गुणा बढी आवेदन परेको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुन गएराति १२ बजेसम्म ९२ हजार ३७६ जनाले आवेदन फारम भरेका छन् ।

त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ ले आवेदन फारम भरेका इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाको आवेदन यही चैत ८ गते राति १२ बजेदेखि खुल्ला गरिएको थियो । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रका लागि सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने छ ।

सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । त्यस्तै सन् २०१७ मा ६८ हजार ३८३ र सन् २०१६ मा ६० हजार ६२६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए । सन् २०१५ मा ५१ हजार १३७, सन् २०१४ मा ५८ हजार ७४६, सन् २०१३ मा ४४ हजार १२२ ले कोरियाली भाषा परीक्षामा सहभागिता जनाएका थिए ।

यसैगरी सन् २०११ मा ५० हजार ४३, सन् २०१० मा ३६ हजार ३०२ र पहिलो पटक सन् २००८ मा ३१ हजार ५२५ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका सो शाखाले जनाएको छ ।

कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारकाबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नेपाली दक्षिण कोरिया जाँदै आएका छन् । कामदार कोरिया पठाउने सम्बन्धमा मेनपावर व्यवसायीको कुनै संलग्नता स्वीकार नगरिएकाले नेपाली कामदार ठगिनेदेखि भनेअनुसारको काम र पारिश्रमिक नपाउने अवस्था छैन ।

कामदारले आफूले फाराम भर्दाकै क्रममा उल्लेख गरेका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्नेछन् भने कोरिया सरकारले तोकेको श्रमिकका न्यूनतम् पारिश्रमिक पाउँदै आएका छन् । एक दशकको अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ ।

प्रकाशित : १८ चैत्र २०७५, सोमबार ००:००