२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

जन नायक रामप्रसाद राईको स्मृतिमा रक्तदान




काठमाडौँ ७, फागुन । जननायक रामप्रसाद राईको स्मृतिमा रक्तदान कार्यक्रम गरिएको छ । २००७ साल क्रान्तिका कमाण्डर राईको स्मृति तथा ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा आज रक्तदान कार्यक्रम गरिएको हो ।
ललितपुरको बालकुमारी स्थित केन्द्रिय रक्तसञ्चार केन्द्रमा आयोजित कार्यक्रममा ४५ जनाले रक्तदान गरेको रामप्रसाद राई फाउण्डेसनकी अध्यक्ष सुष्मा राईले जानकारी दिए ।
जननायक राईको नाममा स्थापना गरिएको फाउण्डेसनले अध्ययन अनुसन्धान तथा विभिन्न सामाजिक काम गर्दै आएको र त्यसैको निरन्तरताको रुपमा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष राईले बताइन ।


पूर्व ब्रिटिस आर्मी जननायक राईको वि.स. १९६५ मा जन्म भएको थियो । भोजपुरमा जन्मिएका राई र नारदमुनी थुलुङको कमाण्डमा पूर्वबाट क्रान्तिको उद्घोष गरेका थिए । नेपालमा प्रजातन्त्र स्थापना गर्न उनको महत्वपूर्ण भूमिका रहेको थियो । प्रजातान्त्रिक आन्दोलनको सर्वोच्च कमाण्डर राई सशस्त्र क्रान्तिबाटै निरंकुश राणालाई परास्त गर्न चाहान्थे । त्यसको विपरीत राजा, राणा र कांग्रेसबीच दिल्लीमा त्रिपक्षीय सम्झौताबाट राणाहरुलाई सत्तामा पुनःस्थापित गरेको, राष्ट्रिय स्वाधिनतामा आँच पुगेको र सच्चा प्रजातन्त्रविरुद्ध षड्यन्त्र भएको बताउँदै माघ ८, २००८ सालमा रामप्रसाद राई र डा. केआई सिंह मिलेर सिंहदरबार कब्जा गरेका थिए । जो ‘सिंहदरबार विद्रोह’का रुपमा चर्चित छ । राईको सम्मानमा विभिन्न विभिन्न संस्थाहरु स्थापना भएका छन् । अध्ययन अनसुन्धानको पुस्तकहरु प्रकाशन हुनुका साथै रामप्रसाद राईको नाममा ७५ पैसाको हुलाक टिकट समेत जारी भएको छ ।

 

प्रकाशित : ७ फाल्गुन २०७५, मंगलबार ००:००