३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मुख्य खबर

डा. केसीसँगको सम्झौता सरकारले तोड्यो : प्रवक्ता शर्मा



पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गरेको छ ।

प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावना तथा अन्य कार्यदलका प्रतिवेदनसमेत लत्याइएको बताए ।

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने दफामा पनि डा केसीसँगको सम्झौता भएको तर त्यसमा समेत कुनै सुनुवाइ नभएको प्रवक्ता शर्माले उल्लेख गरे ।

विसं २०४६ अघि दुई मेडिकल कलेज भएको देशमा अहिले दुई दर्जन पुगेका उल्लेख गर्दै उहाँले राजधानी काठमाडाँैमा अहिले मेडिकल कलेज आवश्यक नरहेको बताए ।

डा केसीका माग वर्तमान सरकारले सम्बोधन नगरे पनि बहुमत आउँदाको अवस्थामा ती मागलाई सम्बोधन गर्न काङ्ग्रेस तयार रहेको उहाँले बताए । अनशन बसेको २३ दिन पुग्दै गर्दा डा केसीको स्वास्थ्य गम्भीर बन्दै गएको बताउँदै प्रवक्ता शर्माले डा केसीको जीवनरक्षा नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।

सरकारले एक वर्षको अवधिमा कुनै जनपक्षीय काम नगरेको आरोप लगाउँदै उहाँले भ्रष्टाचार, अनियमितताका साथै सरकारको मनोमानीका विरोधमा काङ्ग्रेसले माघ २१ गते देशैभरि विरोधको कार्यक्रम अगाडि सारेको जानकारी दिए।

प्रकाशित : १८ माघ २०७५, शुक्रबार ००:००