९ जेष्ठ २०८१, बुधबार । May 22, 2024

Life Style

सन् २०१८ संविधान कार्यान्वयन र संक्रमणकाल अन्त्यको वर्ष



 

काठमाडौं,१७ पुस ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको बताउनुभएको छ ।
अँग्रेजी नयाँ बर्ष २०१९ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सन् २०१८लाई राजनीतिक उपलब्धीको बर्ष पनि भन्नुभएको छ । “ जननिर्मित नयाँ संविधान अनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई वितेको वर्षमा राजनीतिक संक्रमणकालको अन्त्य भयो ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “संक्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को संकल्प सहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमूख छौं । राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिंगै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो । ”
प्रधानमन्त्री ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । “ अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक विन्दुमा पुग्नेछ ” प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ “ निर्वाचन मार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक पटक संकल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिनेछैनँ । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । ”

प्रकाशित : १७ पुस २०७५, मंगलबार ००:००