३१ बैशाख २०८१, सोमबार । May 14, 2024

मुख्य खबर

एमाले खोटाङद्वारा उनन्तीस जनाको नाम सिफारिस



खोटाङ, २१ असोज (रासस) प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) ले जिल्लाबाट २९ जनाको नाम सिफारिस गरेको छ ।

सदरमुकाम दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा दुई दिनसम्म बसेको जिल्ला कमिटीको बैठकमार्फत उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सांसद तथा वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई र वैकल्पिक केन्द्रीय सदस्य राजन राईको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष बबी चाम्लिङले जानकारी दिनुभयो । समानुपातिकतर्फ देवविक्रम राई, शुक्रबहादुर विश्वकर्मा, समरबहादुर भुजेल र मनिषा राईको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

बैठकले प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट सांसद पाँचकर्ण राई, प्रदेश सदस्य हरि पोखरेल, जिल्ला उपसचिव कुमारप्रसाद आचार्य, प्रदेश सम्पर्क कमिटी सदस्य वीरबलकाजी राई, युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र पार्टीको जिल्ला सचिवालय सदस्य सनमान खड्काको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ कर्ण घले, देवन राई, भीम राई, निर्मला आचार्य, उपिनकुमार राई, अकिलकुमार राई र रमिला गुरुङको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

प्रदेशसभा क्षेत्र नं २ का लागि पूर्व सभासद् उषाकला राई, जिल्ला उपाध्यक्ष रामप्रसाद दंगाल र जिल्ला सचिवालय सदस्य जलशेर राई तथा समानुपातिकतर्फ देवीप्रसाद रेग्मी, जेनी राई, प्रभातविक्रम कटवाल, दिलकुमारी राई, सुशीला ढकाल र पूर्णकला तामाङको सिफारिस गरिएको छ । निर्वाचनमा टिकट दाबी गर्नेको संख्या बढी भए पनि टिकट पाउने उम्मेदवारलाई सहयोग गरेर जाने लिखित निर्णय भएको अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो ।

काँग्रेस र माओवादी केन्द्रले भने यसअघि नै उम्मेदवार सिफारिस गरिसकेका छन् । जिल्लाका अन्य साना दलले भने अहिलेसम्म सिफारिस गर्न सकेका छैनन् ।

प्रकाशित : २१ आश्विन २०७४, शनिबार ००:००