१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

मुख्य खबर

पाँचपुनि मेला सम्पन्न



डोल्पा(दुनै), असोज । धार्मीक, सामाजिक र सांस्कृतिक विविधता रहेको डोल्पाका विभिन्न गाउंहरुमा शुक्रवार पांचपुनि मेला सम्पन्न भएको छ ।
विविध धार्मीक, सामाजिक र सांस्कृतिक महत्व बोकेको पांचपुनि मेला केही ठाउंमा शुक्रवार सकिदै छ । लहरे नाच, पैसेरी नाच, ख्याली नाच, सिगारु नाच, पञ्चेबाजा नाच, धामी नाच, रांई नाच, झोरा, मांगल, बिजुली, राइजुमा, विभिन्न झांकी प्रदर्शन गरेर मनाइने पांचपुनि मेला मुड्केचुला गाउंपालिका–३ रिडिङ्गमा शुक्रवार सकिदै छ ।
यसै गरी जगदुल्ला गाउंपालिकाको छांचु, नर्कु, पाहाडा लगायतका विभिन्न गाउंहरुमा पनि यो वर्षको पांचपुनि मेला सकिएको छ । तर मुड्केचुला गाउंपालिका ८ ओक्ट, रिमी, ल्हां लगायतका गाउंहरुमा भने पांचपुनि सकिन ३ दिनजति बांकी रहेको ओक्टबाट लालबहादुर बुढाले फोनमा जानकारी गराए ।
शुक्रवार राति सकिने गरी रिडिङ्गमा लागेको पांचपुनि मेलामा हजारौको उपस्थिति रहेको रिडिङ्गका सरोज थापाले बताए । उनका अनुसार मेलामा धेरै गाउंबाट मेला भर्न आउनेहरुले आआफ्ना लहरे नाच, पैसेरी नाच, ख्याली नाच, सिगारु नाच, पञ्चेबाजा नाच, धामी नाच, रांई नाच, झोरा, मांगल, बिजुली, राइजुमा, विभिन्न झांकी प्रदर्शन गर्ने भएकाले मेला धेरै रमाइलो बनेको छ ।
रिडिङ्ग जस्तै रमाइलो ओक्टमा पनि हुने गर्छ । यस गाउंमा पांचपुनि मेला कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि सुरु भए पनि दशैका दिनदेखि दैनिक रमाइलो बढ्दै जान्छ । पुनिका दिन कालिका पुजा गरेर दिउसो धामी नाच प्रदर्शन गरे पछि मेलामा रमाइलो धेरै बढ्ने गर्दछ ।
धार्मीक र सांस्कृतिक विविधता रहेको डोल्पामा धेरै चाडबाडहरु महत्वका साथ मनाएर रमाउने गरिन्छ । हिन्दु र बुद्धिष्ठ धर्मावलम्बीहरुको वाहुल्यता रहेको डोल्पाका ओक्ट, रिडिङ्ग, रिमी, छांचु, नर्कु, दापु, पाहाडा लगायतका गाउंवस्तिहरुमा दशैको पूर्णिमाका रुपमा रहेको पांचपुनिलाई आफ्नो मुख्य चाड बनाएको पाइन्छ । त्यसै गरी सर्मी, इल, होर्त, लिकु, जुफाल, दुनै, लोचा लगायतका विभिन्न गाउंहरुमा भदौ शुक्ल पूर्णिमालाई भदै पुनिका रुपमा मुख्य चाडका रुपमा मनाउछन् ।
अर्को तिर बद्ध धर्मावलम्बीहरुको बसोबास रहेको धो, तिन्जे, छार्का, मुकोट, साल्दाङ, फोक्सुण्डो, भिजेर, रसी, खालिवन, काइगाउं लगायतका गाउंहरुमा ल्होसार मनाउने गर्छन् भने शहरतारा, लावन लगायतका बस्तिहरुले चैतीलाई मुख्य चाडका रुपमा मनाउने गरिएको पाइन्छ ।
केही गाउंका बासिन्दाहरुले भने हिन्दु र बुद्ध दुुबै समुदायका चाडबाढ मान्ने गरेको पाइन्छ । तिप्ला, थाला, शहरतारा, रसी, लावन, रसी, करेलीकांडा, काइगाउं, हुरिकोट लगायतका गाउंहरुमा हिन्दुका देवताहरु र बुद्धलाई संगसंगै मान्ने गरेको पनि पाइन्छ । त्यस कारण उनीहरुले दशै, तिहार, ल्होसार, चैती मान्ने गरेको पाइन्छ ।
डोल्पाका विभिन्न गाउंवस्तिहरुमा परापूर्वकालदेखि परम्परागत रुपमा दशै, तिहार, ल्होसार, चैती, साउन पुनि(तिर्थे पुनि), कात्तिक पुनि(पांचपुनि), साउने सक्रान्ति, माघे सक्रान्ति, जेठपुनि लगायतका विभिन्न चाडवाढ मनाएर मनोरञ्जन लिने दिने गरेको पाइन्छ । यी चाडवाढमा एकापसमा सुखदुख साटासाट गर्ने, आफन्तहरुलाई दिने खुवाउने, राम्रो लगाउने, मिठो खाने, भरपूर मनोरञ्जन लिनेदिने गरेर मनाउने चलन छ ।

प्रकाशित : २१ आश्विन २०७४, शनिबार ००:००