५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

मुख्य खबर

खानेपानी आएपछि रमैडाँडावासी खुशी



पाल्पा, २७ भदौ । पाल्पाको रम्भा गाउँपालिका–४, रमैडाँडामा खानेपानीको सुविधा पाएपछि स्थानीय बासिन्दा खुशी छन् ।

वर्षौंदेखि खानेपानीको समस्या झेल्न बाध्य स्थानीय बासिन्दामा घरघरमा धारा जडान भएपछि हौसला थपिएको छ । धारा जडानपछि नाम्लो र डोको बोक्नुपर्ने बाध्यता हटेको स्थानीय बासिन्दा बताउँछन् ।

दैनिक दुईतीन घण्टा खानेपानी लिन पैदल हिँड्न बाध्य स्थानीय बासिन्दा साँझ बिहान धारामा पानी आएपछि सबैभन्दा बढी खुशी भएको खानेपानी उपभोक्ता समितिका सल्लाहकार तथा स्थानीय बासिन्दा विष्णु बम्रेलले बताउनुभयो ।

डिभिजन खानेपानी कार्यालय, पाल्पाको रु ८९ लाख र जनश्रमदानबाट रु १५ लाख गरी रु एक करोड चार लाख लगानीमा लिफ्टमार्फत हुमिनको धामबाट रमैडाँडामा पानी ल्याइएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कान्छीकुमारी दर्लामीले बताउनुभयो ।

रमैडाँडाका ७० घरधुरीमा खानेपानीको धारा जडान गरेपछि पानीको समस्या झेल्नु परेको छैन । प्रशस्त पानी आएपछि तरकारीखेती गर्न थालेको स्थानीय बासिन्दा बम्रेलले बताउनुभयो ।

बालबालिकाले साँझ र बिहान पानी बोक्न नपरेपछि विद्यालयको गृहकार्य गर्न पाएपछि नियमित विद्यालय जान थालेका छन् । पानीको अभावका कारण दैनिक पानीका लागि दुईतीन घण्टा समय खेर फाल्दा विद्यालयको गृहकार्य गर्न वञ्चित हुनुपर्ने बाध्यताले बालबालिकाको विद्यालयमा उपस्थिति पनि कमी हुनेगरेको थियो ।

स्थानीय बासिन्दा बेलमाया गाहाले घरघरमा खानेपानीको धारा जडान गरेपछि खानेपानीको समस्याबाट छुटकारा पाएको बताउनुभयो । पानीको अभावमा दैनिक दुई घण्टा हिँड्नुपर्ने बाध्यतासमेत हटेको छ । समय बचत भएपछि अहिले महिलाले तरकारीखेती गर्न थालेको र त्यसबाट केही पैसा आम्दानीसमेत गर्ने लक्ष्य रहेको छ ।

करिब दुई वर्षको अवधिमा गाउँमा खानेपानी आएपछि डाँडाका बस्तीमा निकै ठूलो खुशी ल्यायो । नयाँ प्रविधिले खोलाको पानी डाँडामा ल्याएर उपभोग गर्न पाएपछि स्थानीय बासिन्दामा उत्साह थपिएको छ ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलबार ००:००