२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

तिलात्रिवेणी कोटिहोम महायज्ञमा रु २९ लाख संकलन




जुम्ला, २३ भदौ । यही भदौ ६ देखि २१ गतेसम्म सञ्चालन भएको विश्वकल्याण कोटिहोम महायज्ञबाट रु २९ लाख नगद संकलन भएको छ ।

कोटिहोम महायज्ञ तिला गाउँपालिका–४ तिलात्रिवेणीमा सञ्चालन भएको थियो । महायज्ञमा दाताहरुबाट रु २३ लाख ४०० नगद र सात कित्ता जग्गा दान गरेर जम्मा रु २९ लाख बराबर संकलन भएको महायज्ञ मूल समारोह समितिका अध्यक्ष गोरखबहादुर शाहीले जानकारी दिनुभयो ।

“महायज्ञ सञ्चालनको नौ दिनसम्म बडो मुस्किलले रु १० लाख उठेको थियो, यसबाट हामी निरास थियौँ तर ६ दिनमा ह्वात्तै रु २० लाख संकलन भएको छ”, अध्यक्ष शाहीले भन्नुभयो ।

उठेको रकमले धामको संरचना निर्माण गर्ने लक्ष्य पूरा नहुने भए पनि त्रिवेणी धार्मिक आकर्षणको केन्द्रविन्दुका रुपमा परिचित भएको उहाँको भनाइ थियो । यो महायज्ञले त्रिवेणीधामको व्यापक प्रचार–प्रसार भएकाले अब धार्मिक पर्यटन प्रवद्र्धन हुने उहाँको विश्वास रहेको छ ।

समारोह समितिका महासचिव शान्तिनाथ योगीले महायज्ञमा सातजनाले जग्गादान गरेको बताउनुभयो । महासचिव योगीका अनुसार जग्गादाता हरिलाल शाही, जया शाही, अझबहादुर शाही, दलवीर शाही, मुनिराम सुनार, लालबहादुर शाही र शेरबहादुर शाहीले एक÷एक कित्ता जग्गा दान गरेका छन् । महायज्ञमा भूमि, अन्न, तुला, गौदान लगायतका थुप्रै दान गरिएको थियो ।

कोटिहोम महायज्ञ सञ्चालनका समन्वयकर्ता लोकेश शाहीले ओझेलमा परेको धार्मिक क्षेत्रमा पहिलो पटक विश्वकल्याण कोटिहोम महायज्ञ लगाउने काममा सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।

साधारण लेखपढ भए पनि कोटिहोम लगाउने दुई वर्षदेखिको पहल र प्रयासमा आफू सफल भएको समन्वयकर्ता शाहीको भनाइ थियो । पन्ध्र दिनसम्म सञ्चालन भएको विश्कल्याण कोटिहोम महायज्ञमा ६० हजार भक्तजनको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

प्रकाशित : २३ भाद्र २०७४, शुक्रबार ००:००