२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मुख्य खबर

कृषिमा आठ करोड २६ लाखको क्षति



दाङ, २२ भदौ । यहाँ बाढीका कारण कृषिबालीमा रु आठ करोड २६ लाख बराबरको क्षति भएको छ ।

गएको साउन महिनाको अन्त्यतिर आएको बाढीले दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगपालिकामा सबैभन्दा बढी क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । एक हजार ११५ हेक्टर जमिनमा लगाइएको धानबाली र मकैबाली पूर्णरुपमा क्षति भएको र यसबाट एक हजार परिवार प्रभावित भएका छन् ।

उद्योग क्षेत्रमा पनि क्षति भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माले जानकारी दिनुभयो । तुलसीपुरको मदननगरमा रहेको गंगामाला च्याउखेतीमा क्षति हुँदा रु दुई लाख बराबरको नोक्सान भएको छ । त्रिपुर नगरपालिका बेलुवास्थित धर्मी कम्पोस्ट मल उल्पादन कारखानामा क्षति हुँदा रु ५० लाख बराबरको क्षति भएको छ ।

जिल्लामा आठ हेक्टर क्षेत्रफलमा गरिएको माछापालनमा वर्षाका कारण माछा पोखरी डुबानमा पर्दा रु ४० लाखको क्षति भएको छ । बबई, राजपुर र शान्तिनगर गाउँपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकामा लगाइएको धानबाली र मकैबालीमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरेर कृषि मन्त्रालयमा पठाइसकेको शर्माले बताउनुभयो ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००