६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

श्री एयरलायन्सको थप अर्को उडान शुरु



कैलाली, १९ भदौ । साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान शुरु गरेको छ ।

श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक छवटा उडान हुने भएका छन् । आजबाट थपिएकोे उक्त एयरलायन्सको पहिलो उडान काठमाडौँबाट बिहान ९ः५५ उडेर १०ः५० मा आइपुगेको थियो भने दोस्रो उडान दिउँसो २ः०० बजे हुने धनगढी विमान स्थलका प्रमुख छविसिंह ठकुल्लाले बताउनुभयो । उहाँले श्री एयरलायन्सले दशैँका बेला यात्रुको सुबिधाका लागि पनि दैनिक दुई उडान गर्न थालेको जानकारी दिनुभएको छ ।

यात्रुको चाप बढ्दै गएकाले आजदेखि सो एयरलायन्सले दैनिक दुई उडान गर्न थालेको एयरलायन्सका धनगढी इञ्चार्ज गजेन्द्रबहादुर चन्दले बताउनुभयो ।

यसअघि धनगढी विमानस्थलबाट नेपाल एयरलायन्सले एक, निजी क्षेत्रको बुद्ध एयरलायन्सले दुई, सौर्य एयरलायन्सले एक र श्री एयरले आज थप एक गरी जम्मा दैनिक छवटा उडान हुने भएका छन् ।

सडक यातायातबाट काठमाडौँसम्मको यात्रा गर्न सास्ती खेपिरहेका यस क्षेत्रका उपभोक्तालाई एकपछि अर्को गर्दै हवाई सेवा थपिन थालेपछि अब भने राहत हुने विश्वास गरिएको छ ।

विमानस्थलमा दुईवटा जहाजका लागि मात्र पार्किङ र नयाँ रिपिटर पावर भए पनि हाल भने दैनिक उडान थपिन थालेपछि आवश्यक पूर्वाधारको अभाव हुने देखिएको छ ।

प्रकाशित : १९ भाद्र २०७४, सोमबार ००:००